सिरहा, कात्तिक ३० गते ।
सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर हुनेहरूमा पूर्वमेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव छन् ।
मंगलबार र बुधबार सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायमको फैसला गरेको हो । उनीहरूलाई सजाय निर्धारणका लागि भने १० मंसिरको पेसी तोकिएको छ । अख्तियारले १४ चैत ०८० मा मुद्दा दायर गरेको थियो ।
नगरपालिकाले अदालतमा विचाराधीन रहेको प्रशासनिक भवन निर्माणको मुद्दा किनारा नलाग्दै वडा नम्बर ५ मा भवन निर्माणका लागि २०७८ माघमा ठेक्का आह्वान गरेको थियो ।
यस्तै, नगरपालिकाले ठेकेदार कम्पनीलाई १ करोड ८ लाख रुपैयाँ पेस्कीसमेत उपलब्ध गराएको थियो । तर, ठेकेदारले त्यसअनुसार काम भने गरेनन् । त्यसपछि मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलविरुद्ध अख्तियारमा उजुरी परेको थियो । यस कार्यमा तत्कालीन नगर प्रमुख पासमानले बोलपत्र आह्वानको निर्णय गरेको तथा प्रमुख प्रशासकीय अधिकृत रहेका मण्डलले त्यसको सूचना निकालेको अख्तियारको अनुसन्धानमा भेटिएको थियो ।
मण्डलपछि आएका तत्कालीन प्रशासकीय अधिकृत दनुवारले भने सम्झौता गरेका थिए । यस्तै, दनुवार र लेखापाल महतो मिलेर पेस्की दिएको अनुसन्धानमा देखिएको थियो । तर, ठेकेदारले काम नगरे पनि उनीहरूले अग्रिम भुक्तानी ग्यारेन्टीको म्यादभित्र जमानत जफत गर्नेतर्फ पहल नगरेको कारण उनीहरूलाई दोषी ठहर गरिएको हो ।
विशेष अदालतलाई उनीहरूलाई १ करोड ८ लाख रुपैयाा जरिवाना पनि तोकेको छ । जसअनुसार, प्रतिव्यक्ति २१ लाख ६० हजार जरिवाना बुझाउनुपर्नेछ । – कान्तिपुर