द पब्लिक टुडे
गौशाला, मंसिर १ गते ।
काठमाडौंमा बसोबास गर्ने थारु समुदायले समाचकेवा पर्व मनाएका छन् ।
शनिबार ‘थारू भसा साहित्य केन्द्र नेपाल’ले आयोजनामा थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।
थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु भसा साहित्य केन्द्रके अध्यक्ष भुलाई चौधरीले बताए ।
‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्यता दिएको छै न। यो तराईको संस्कृतिमाथिको अपमान हो,’ उनले भने ।
उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारुलगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरे ।
उनले भने, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन । खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्यो ।’
थारु समुदायसँगै तराइमा अन्य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । उनले भने, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ । समा राजाकी छोरी थिइन् । बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्यो । आफ्नै मौलिक परम्परा गीत र संगीत छ । त्यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’
कार्यक्रममा थारु कानून व्यावसायी सभाको महासचिव श्रवणकुमार चौधरीले समाचकेवा थारुको मौलिक गीति चाड भएकाले यसलाई जोगाउनुपर्ने बताए । उनले भने, ‘समाचकेवा थारुको मौलिक गीति र जीवन्त संस्कृति हो । यसलाई जोगाउनु नै आजको आवश्यकता छ ।’ मौलिक संस्कृतिलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै थारु महिला रेनु चौधरीले समाचकेवा भाइबहिनीप्रतिको माया, प्रेम, सद्भाव र जिम्मेवारी तथा समाजमा भएका भएका विभिन्न व्यक्तिहरुको चरित्र चित्रण गरेको बताए ।
उनले समाचकेवामा कुरौटे (चुगला) को उदाहरण दिँदै भनिन्, ‘समाचकेवामा कुरा लगाउने, अरुप्रति चुक्ली लगाउने, छलछाम गर्ने चुगला नामक पात्र हुन्छ जसको प्रत्येक दिन समा खेल्दा जुँगा डढाउने गर्छन् दिदीबहिनीहरु । हाम्रो समाजमा पनि यस्ता पात्रहरु भेटिन्छन् । जसलाई सोही अनुसार दण्ड सजाय हुन्छ ।’ परिवार र समाजमा कुरा लगाउनेप्रति सधैं सचेत हुने सन्देश समाचकेवाले दिएको उनले बताइन्।
बाँसको नाङ्लोमा काँचो माटोबाट विभन्न आकारका मूर्तिहरु बनाइएका छन् जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतियारमालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया÷झाइल बजिया र भमरा राखेर समाचकेवा खेल्ने गरिन्छ ।
तमुबौद्धमा समाचकेवा खेलिसकेपछि थारु महिला सभाले धोबीखोला किनारमा समाचकेवा (जल बिसर्जन) सेलाएका छन् । त्यसअघि आपसमा छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया÷भाइजी÷गोदिया (मित) लगाएका छन् ।
यसले थारु समुदायमा समाचकेवाको जस्तै मितिनी वा मीतको मर्यादा कायम रहन्छ भन्ने किंवदन्ती छ । त्यसअघि मिल्ने छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया÷भाइजीगोदिया (मित) लगाउने थारु समाजमा अहिले पनि चलन छ ।