काठमाडौँ, मंसिर ३ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा समवेदना प्रकट गरेका छन्।
`पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधैँ स्मरण हुनेछ, प्रिय ढुंगानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु,´ राष्ट्रपतिले भनेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट रहेको स्मरण गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो उनको निधन भएको हो। वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि अस्पतालमा थिए।