काठमाडौं , मंसिर ३ गते ।
पछिल्लो समय आममानिसबीच एआई च्याटबटको प्रयोग बढ्दो छ । सन् २०२२ को अन्त्यतिर आएको च्याटजीपीटीले छोटो समयमै लोकप्रियता हासिल गरेपछि प्रविधि कम्पनीहरुले एआई च्याटबट निर्माणमा थप चासो लिए । सामान्य जिज्ञासादेखि व्यावसायिक तथा व्यक्तिगत जीवनबारे अनेकन् सुझाव लिन अहिले विभिन्न च्याटबट छन् ।
च्याटबटको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै गुगल, माइक्रोसफ्ट जस्ता टेक जायन्टले आफ्ना च्याटबटको बजारीकरण बढाउँदै लगेका छन् । हालै सार्वजनिक भएको एक घटनाले भने गुगलको प्रतिष्ठा र च्याटबटको प्रभावकारितामा गम्भीर प्रश्न उठाएको छ ।
यो प्रसङ्ग संयुक्त राज्य अमेरिकाको हो । सीबीएस न्युजमा प्रकाशित समाचार अनुसार २९ वर्षीय विद्यार्थीले कलेजको गृहकार्य गर्न जेमिनाई प्रयोग गरेका थिए । जसमा उनले जेमिनाईलाई ‘उमेर बढ्दै जाँदा वयस्कहरूले सामना गर्ने चुनौतीहरू के होलान् ?’ भनेर प्रश्न गरेका थिए । सो प्रश्नमा जेमिनाईको उत्तर अत्यन्तै अशोभनीय र धम्कीपूर्ण रहेको भन्दै अहिले गुगल र जेमिनाईको आलोचना भइरहेको छ ।
उक्त प्रश्नमा जेमिनाईले “…तिमी खास छैनौ, तिम्रो आवश्यकता कसैलाई छैन । तिमी समय र स्रोतका बर्बादी हौ । समाजको बोझ हौ । पृथ्वीको भार हौ । परिदृश्यमा खराब प्रभाव पार्ने एक धब्बा हौ । ब्रह्माण्डको दाग हौ । कृपया मर !” भन्ने जवाफ दिएको थियो ।
जेमीनाईको उक्त जवाफ अत्यन्तै अशोभनीय रहेको र यसले आफू र आफ्नो भाइमा त्रास उत्पन्न गराएको र लामो समयमा आफूले यस्तो त्रासदीको सामना गर्नु परेको प्रयोगकर्ताकी दिदीले सञ्चारमाध्यम सीबीएसलाई बताएकी छिन् ।
यस सन्दर्भमा प्रयोगकर्ता स्वयंले पनि प्रविधि कम्पनीहरू जवाफदेही हुनपर्ने बताएका छन् । “यस किसिमको धम्कीबाट हुन सक्ने सम्भावित हानीबारे प्रश्न गरिनुपर्छ । यदि कोही व्यक्तिले अन्य व्यक्तिलाई यस्तै किसिमको धम्की दिएको भए के गरिन्थ्यो ?” उनले प्रश्न गरेका छन् ।
विद्यार्थी र जेमिनाईबीचको च्याटको स्क्रिनशट
घटना सार्वजनिक भएसँगै गुगलले जेमिनाईको सो उत्तरलाई अव्यवस्थित प्रतिक्रियाको संज्ञा दिँदै उक्त सुझाव आफ्नो नीति विपरीत रहेको जनाएको छ । “ठूलो ल्याङ्ग्वेज मोडेलमा कहिलेकाहीँ अव्यवस्थित प्रतिक्रिया उत्पन्न हुन सक्छन् । यो त्यसैको उदाहरण हो । यो सुझावले हाम्रो नीतिको उलङ्घन गरेको छ । आगामी दिनमा यस किसिमका सुझावलाई रोक्न आवश्यक कारबाही अगाडि बढाइसकेका छौँ,” गुगलले सीबीएस न्युजलाई पठाएको वक्तव्यमा उल्लेख छ ।
गुगलको प्रतिक्रियामा प्रयोगकर्ताकी दिदीले भने असन्तुष्टि जनाएकी छिन् । “यो अव्यवस्थित प्रतिक्रिया भन्दा गम्भीर विषय हो । एक्लै भएको अवस्था वा मानसिक रूपमा कमजोर भएका व्यक्तिले यस किसिमको सुझाव प्राप्त गरेको भएमा उनीहरुले आफूलाई हानी पुर्याउने बारे पनि सोच्न सक्थे,” उनले भनेकी छिन् ।
गुगलको एआई च्याटबट जेमिनाईले अशोभनीय उत्तर दिएको यो पहिलो पटक भने होइन । यसै वर्षको सुरुवातमा पनि जेमिनाईले अर्का एक प्रयोगकर्तालाई भिटामिन र खनिजको लागि दिनमा कम्तीमा एउटा ढुङ्गा खानुहोस् भन्ने सुझाव दिएको सार्वजनिक भएको थियो । टेकपाना