जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

द पब्लिक टुडे
गौशाला, मंसिर ३ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

सोमबार जनकपुरमा मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवालको उपस्थितिमा मार्की खेलाडी आसिफ शेखले आधिकारिक जर्सी रिभेल गरेका हुन् ।

कार्यक्रममा नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक पनि गरिएको थियो । साथै उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै कप्तान महतोले आफूलाई फेस अफ द बोल्टस बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद दिइन् । उनले एनपिएलको पहिलो संस्करणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुरलाई सफलताको शुभकामना समेत दिइन् ।

एनपीएलका आठ फ्रेन्चाइजहरूमध्ये विराटनगर किङ्स र चितवन राइनोजबाहेक सबैले आधिकारिक जर्सी सार्वजनिक गरिसकेका छन् । एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

Scroll to Top