डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक
कस्मेटिक तथा लेजर सर्जन
चाया पर्ने समस्याले धेरैलाई सताएको हुन्छ । तुलनात्मक रुपमा बढी जाडोयाममा चायाले सताउँछ । किनभने बदलिंदो मौसम र हावाका कारण कपालमा नमी घट्छ । जसकारण टाउको सुक्खा हुन थाल्छ र कपालमा चाया पर्ने समस्या बढ्न सक्छ ।
साथै, जाडोयाममा मालासेजिया नामको फङ्गस पनि धेरै हुन्छ, जसकारण कपालमा चाया पर्ने समस्या हुन्छ । जब सुक्खा र चिसो हावा कपालको जरासम्म पुग्छ, हाम्रो टाउकोको छाला जहाँबाट कपालको जरा सुरु हुन्छ । त्यसमा सुक्खापन तथा पत्र भएको चाया उत्पन्न हुन्छ र त्यो चिलाउन थाल्छ । चायाका पत्र जब हाम्रो काँध र लुगामा खस्छ ।
चाया पर्ने कारण
टाउकोमा रहेको बाहिरी छालाका कोष मर्ने र नयाँ पलाउने क्रम चलिरहन्छ । जसले मानिसको टाउकोमा सेतो मसिना फुस्रो दाग तथा कणहरू देखा पर्छन्, जसलाई चाया भनिन्छ । चाया पर्नुको कारण कपालको सफाइमा ध्यान नदिनु पनि हो ।
शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणले पनि चाया पर्ने हुन्छ । विभिन्न रोग, अखाद्य वस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्ने हुन्छ । साथै अत्यधिक तनाव लिने, शारीरिक थकानको काम गर्ने र केही एलर्जीले समेत चाया पर्छ ।
कपालमा तेल धेरै हुँदा पनि चाया पर्छ । फङ्गस, लामो समयसम्म ननुहाउने, घाममा धेरै बस्ने, टाउकोमा धेरै पसिना आउने भएमा, टाउकोलाई गुम्स्याएर राख्दा, चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काइँयो प्रयोग गर्दा पनि चाया पर्छ । कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ ।
बच्ने उपाय
कपालमा चाया पर्ने समस्याबाट बच्न नियमित कपालको सरसफाइमा ध्यान दिनुपर्छ । टाउको कम्तीमा हप्तामा तीन पटक नुहाउनुपर्छ । राम्रो खालको स्याम्पुको प्रयोग गनुपर्छ र धेरै स्याम्पु परिवर्तन गर्नु हुँदैन ।
चाया चिल्लोपन बढी भएको ठाउँमा फस्टाउने हुँदा बढी चिल्लो आउने कपालमा तेल हाल्न कम गर्नुपर्छ । चाया परेको बेलामा कपालमा तेल लगाउनै हुँदैन र कपालको सरसफाइमा ध्यान दिनुपर्छ । चायाबाट बच्न अत्यधिक धुलोधुवाँ भएको वातावरणबाट जोगिनुपर्छ । यदि त्यस्तो वातावरणमा हिंड्नैपर्ने भए टाउको तथा शरीर पूरा ढाकिने कपडा लगाउनुपर्छ ।
बजारमा पाइने एन्टी डैन्ड्रफ स्याम्पुले कपाल धुँदा समेत चायाको समस्या धेरै हदसम्म हराउँछ । विश्वासिलो कम्पनीको चायाविरुद्घ उपयोग गरिने स्याम्पु फाइदाजनक हुन सक्छ ।
चाया परेको व्यक्तिले प्रयोग गर्ने काइयो, तौलीया, हेलमेट अरूले प्रयोग गर्नु हुँदैन । यसो गरेमा चाया एकबाट अर्कोमा सर्दै जान्छ । हेलमेट समय सयमा धोइराख्ने गर्दा धेरै फाइदा हुन्छ ।
चाया विरुद्घको स्याम्पु नियमित रूपमा चार–पाँच सातासम्म लगाउँदा पनि समस्या समाधान नभए वा बढ्दै गए छाला रोग विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।
चायाका कारण चिलाएको ठाउँ रातो देखिन गई त्यहाँको छाला जान थालेको अवस्थामा तुरुन्त अस्पताल गई गरी परीक्षण र उपचार गर्नुपर्छ ।