द पब्लिक टुडे
गौशाला, मंसिर १८ गते ।
नेपालगञ्जमा बिषादी प्रयोगमुक्त सप्ताह मनाइएको छ । ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मुल नाराका साथ मंगलवार नेपालगञ्जमा बिषादी प्रयोगमुक्त सप्ताह मनाएको हो ।
पछिल्लो समय विषादीको अत्यधिक प्रयोगका कारण जमिन, हावा, पानीसँगै जनस्वास्थ्यमा परिरहेको नकारात्मक असरलाई ध्यानमा राखेर विषादी सचेतना अभियान अन्तर्गत बिषादी प्रयोगमुक्त सप्ताह विषादी ब्यबसायि संघ लुम्बिनी प्रदेशका सदस्य किरण खनालले बताए ।
उनका अनुसार यस समस्याको समाधान गर्न प्रत्यकबर्ष विषादी प्रयोग मुक्त सप्ताह कार्यक्रमको आयोजना हुँदै आएको छ । यो अभियान केवल विषादी प्रयोगलाई न्यूनीकरण गर्नका लागि मात्रै नभई कृषि र वातावरणलाई दिगो र स्वस्थ बनाउने संकल्पको प्रतीक समेत रहेको सदस्य खनालले उल्लेख गरे ।
‘सुरक्षित र सन्तुलित विषादी प्रयोगको अभ्यास गर्नु नै जैविक समाधान, जैविक मल र जैविक कीटनाशकको प्रयोगलाई प्राथमिकता दिनु हो,’ सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खनालले भने ‘कृषि विशेषज्ञ र प्राविधिकहरूसँग परामर्श गरेर मात्रै विषादीको प्रयोग गर्नुपर्छ ।’
विषादी व्यवसायीहरूले पनि यो अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुरक्षित विषादी उपलब्ध गराउन र किसानहरूलाई सही तरिकाले प्रयोग गर्न सिकाउन ब्यबसायीहरुलाई अनुरोध गरे ।
यस अभियानलाई सफल बनाउन कृषकसँगै कृषि बिज्ञलगायत सरोकारवालाहरुको साथ र सहकार्य अति आवश्यक रहेको बताउँदै सबै मिलेर जिम्मेवार कृषि प्रणालीको विकास गर्न सकिनेमा उनले बिश्वास ब्यक्त गरे । विषादी प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउँदै स्वस्थ र हराभरा भविष्यको निर्माण गर्न सबै हातेमालो गरेर हिड्नुपर्ने उनको कथन छ ।