सन्तोष सिंह
धनुषा, पुस ११ गते ।
मधेश प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री सतीशकुमार सिंहले ल्याउने अध्यादेशको विरोध गर्ने भएको छ । त्यस्तै एमालेले प्रदेश सरकारको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने निर्णयको पनि विरोध गर्ने भएको छ ।
मधेश प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालयमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समीक्षा, सरकाको कार्यशैलीबारे छलफल, प्रदेश सरकारको योजना सञ्चालन र मुख्यमन्त्रीले ल्याउन लागेको अध्यादेशको विषयमा छलफल भएको नेकपा एमालेकी प्रदेश सांसद शारदादेवी थापाले बताइन् ।
बैठकमा गठबन्धन दलका नेताहरूसँग छलफल नगरी मुख्यमन्त्रीले ल्याउन लागेको अध्यादेशको विरोध गर्ने विषयमा सांसदहरू एकमत भएको उनले बताइन् । प्रदेश सरकारको योजना सञ्चालन गर्न ढिलाइ भएकोले समयमै काम सम्पन गर्न उपभोक्ता समितिबाटै योजना सञ्चालन गर्ने एमाले संसदीय दलभित्र सहमति भएको थापाले बताइन् ।