विपन्न समुदायका तीन हजारलाई कपडा वितरण

टीकापुर, पुस २० गते ।

ब्राहमण समाज कैलालीले विपन्न समुदायका लागि कपडा वितरण सुरु गरेको छ । यही पुस १ गतेदेखि सुरु गरिएको कपडा वितरण हालसम्म तीन हजार नागरिकसम्म पुगेको समाजका अध्यक्ष रामप्रसाद रिमालले बताए ।

“कसैसँग धेरै कपडा हुने र कसैसँग नहुने अवस्था भएकाले भएकाबाट सङ्कलन गरेर नहुनेलाई वितरण सुरु गरिएको हो”, उनले भने, ‘‘सबैतिरबाट सहयोग मिलेको छ । नयाँ र पुराना सबैखाले कपडा उपलब्ध भएका छन् ।’’

चिसो बढेपछि कपडा वितरण केन्द्रमा दैनिक तीन सय जनासम्म कपडा लिन आउन थालेको उनले बताए । “एक जनालाई दुई जोर लुगा दिने गरेका छौँ, अत्यावश्यक भएकाले लुगा आफैँ छानेर लैजाने गरिएको छ”, उनले भने ।

न्यायो लुगा लिन आएका ७८ वर्षे सुरेन्द्र चौधरीले दुई वटा ज्याकेट पाएको छ । “लाइनमा बस्न सक्दिन, मलाई लुगा मिलाइदिनुस् भनेपछि दुई वटा ज्याकेट पाए”, उनले भने, “घरमा बुढाबुढी मात्र छौँ, कमाउन सक्दैनौँ, जाडो छेक्न न्यायो लुगा छैनन, यी ज्याकेट पाएपछि सजिलो भयो ।”

जानकी गाउँपालिका–१ दुर्गौलीकी फुलमती चौधरीले चिसो मौसममा यसरी निःशुल्क रूपमा कपडा वितरण गर्नु राम्रो काम भएको बताए । “लुगा किन्न नसक्ने हामी जस्तालाई ठूलो सहयोग हो”, उनले भने, “कसैका घरमा टन्न लुगा हुन्छन्, कसैसँग एकसरो लुगा हुँदैनन्, यस्ता व्यक्तिलाई लुगा पाइने यो कार्य पुण्यको काम हो ।”

प्रेरणा चौधरी र शान्ति थारुले चिसोमा लुगा कपडा किन्न नसक्नेका लागि निःशुल्क लुगा वितरणले राहत मिलेको बताए । एकतानगर बस्तीकी रमा भुल एक घण्टासम्म लाइनमा बसेर एक वर्षको बच्चा र आफ्ना लागि चाहिने लुगा लिएर जानुभयो । “आफ्ना लागि लुगा लिन आएकी थिए, बच्चाका कपडा पनि पाएँ”, उनले भने ।

Scroll to Top