पुनम कुमारी सिंह
गौशाला, पुस २२ गते ।
मधेशका होटल तथा पर्यटन व्यवसायीले नेपाल पत्रकार महासंघमा निर्वाचित पत्रकारहरुलाईसम्मान गरेका छन् ।
शनिवार एक समारोहकाबीच महोत्तरीको बर्दिवासमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र होटल संघ नेपालको मधेश प्रदेश समितिले नेपाल पत्रकार महासंघमा जिल्ला, प्रदेश र केन्द्रमा मधेसबाट निर्वाचित पत्रकारहरुलाई बधाई ज्ञापन गर्दै स्वागत एवं सम्मान गरेका हुन् ।

कार्यक्रममा पत्रकार महासंघमा मधेशबाट केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेशका पदाधिकारी एबं सदस्य तथा प्रदेशका आठवटै जिल्लाका नवनिर्वाचित अध्यक्षहरुको सहभागिता रहेको थियो ।
सम्मान ग्रहण गर्दै पत्रकारहरुले मधेशको पर्यटन प्रबद्र्धनमा होटल तथा पर्यटन व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले आफूहरुले विगतमा तय गरेको ‘घुमौ मधेश, बुझौ मधेश’ भन्ने नारालाई पछि मधेश प्रदेश सरकारले अपनत्व लिएको स्मरण गराए । मधेशको समृद्धि र विकासका लागि यहाँका पर्यटकीय स्थलको पहिचान, पूर्वाधार विकास र प्रचार आवश्यक रहेको बताउँदै नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ र होटल संघ नेपाल (हान) का वरिष्ठ सल्लाहकार विजय झुनझुनवालाले यस कार्यमा पत्रकारको महत्वपूर्ण योगदान रहने उल्लेख गरे ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले ‘घुमौं मधेस बुझौ मधेस’ अभियानलाई साँझा अभियानको रुपमा लिएर प्रचारप्रसार गरिदिन पत्रकारहरुलाई आग्रह गरे ।
उनले सबैले आआफ्नो तहतप्काबाट प्रचारप्रसार गरे मधेस प्रदेश पर्यटनको हबको रुपमा स्थापित हुने अध्यक्ष गौतमले विश्वास व्यक्त गरे । पत्रकारितालाई सहज बनाउन होटल व्यवसायीहरुको निरन्तर साथ रहने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्यद्वय राजकरण महतो र ललिता साह, प्रदेश अध्यक्ष श्याम वञ्जारा, प्रदेशका पदाधिकारी तथा सदस्यहरु र जिल्ला अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरु, होटल व्यवसायी महासंघका विभिन्न तहतप्काका पदाधिकारीहरुलगायतको उपस्थिती रहेको थियो ।


