भूकम्पले कोसीमा ५ घर क्षति

द पब्लिक टुडे
गौशाला, पुस २३ गते ।

मंगलबार बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भुईँचालोका कारण ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन् ।

भूकम्पका कारण चारवटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको प्रहरीले जानकारी दिएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा क्षतिग्रस्त दुई घरमध्ये चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको छ ।

ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ चुहानछापका हिमाल कार्कीको घर, सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङ ल्यामु गाउँपालिका ५ हेलाजुङका आङ ङिमा शेर्पाको घरमा सामान्य क्षति भएको प्रदेश पहरी कार्यालय विराटनगरले जनाएको छ ।

सङ्खुवासभाको भोट खोला गाउँपालिका १ किमाथांकाका तेन्छेदी शेर्पाको घरमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

क्षतिबारे बुझ्ने क्रम जारी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए ।

उता भूकम्पको केन्द्रबिन्दु तिब्बतमा भने अहिलेसम्म ५३ जनाको मृत्यु पुष्टि भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

Scroll to Top