काठमाडौं अदालतमा उपस्थित हुँदै लामिछाने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

द पब्लिक टुडे
गौशाला, पुस २६ गते ।

कास्कीबाट बिहीबार धरौटीमा रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए । रविलाई धरौटीमा छाड्न दिएको आदेशमा न्यायाधीश राईले उनी किन कसुरदार छैनन् भन्न सकिँदैन भन्नेमा पर्याप्त आधार प्रस्तुत गरे पनि धरौटी माग्नुको कारणबारे उल्लेख गरेका छैनन् ।

उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई विहीबार परिवारको जिम्मा लगाइएको थियो । कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

रविसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँ भने विहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

Scroll to Top