जनकपुरधाम, पुस २७ गते ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकार आचारसंहिताको पूर्ण पालना गरेर संचारकर्मीले समाचार सङ्कलन एवं सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको छ ।
मिडिया काउन्सिल मधेस प्रदेश जनकपुरधामको सहयोगमा यहाँस्थित रासस मधेस प्रदेश कार्यालयद्वारा शनिवार जनकपुरमा आयोजित ‘बदलिँदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका विषयक’ दुईदिने तालिम समापनका अवसरमा उहाँले व्यावसायिक एवं मर्यादित पत्रकारितामा जोड दिए ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झाले पत्रकार आचारसंहिताको पालना नगर्दा सञ्चार क्षेत्रमा विकृति एवं विसङ्गति उत्पन्न हुने भएकाले राज्यप्रतिको दायित्व पत्रकारहरुले बिर्सन नहुने बताए ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै कार्यकारी अध्यक्ष झाले लोकतन्त्रका उपलिब्धको रक्षामा पनि पत्रकारहरू सचेत रहनुपर्ने विचार व्यक्त गरे । उनले राष्ट्रको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा पत्रकारले जिम्मेवारीपूर्वक कलम चलाउन आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार कर्णले पत्रकारिता क्षेत्रको समस्या तथा चुनौतीका विषयमा जानकारी गराउँदै राससका पत्रकारले लिएको पत्रकारिता तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाए ।
कार्यक्रमको सभापतित्व गरेका मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले मिडिया काउन्सिलले मधेस प्रदेशमा पत्रकार आचारसंहिता र पत्रकारको क्षमता विकासका लागि निरन्तर काम गरिरहेको जानकारी दिँदै पत्रकारको समस्या समाधानमा सङ्घ, प्रदेश तथा स्थानीय निकायले आआफ्नो तहबाट पत्रकारको वृत्तिविकासमा जोड दिनुपर्ने बताए ।
सो अवसरमा रासस मधेस प्रदेशका प्रमुख सुरेश झा, राससका निमित प्रमुख समाचारदाता नारायण न्यौपाने तथा सम्पादक कृष्ण सापकोटाले राससको समाचारका साथै विभिन्न कार्यबारे जानकारी दिएको थियो ।
तालिममा सहभागी भएका राससमा कार्यरत कर्मचारी तथा पत्रकाहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । मधेस प्रदेशअन्तर्गत राससका पत्रकार तथा कर्मचारी गरी ३० जनाको सहभागिता थियो ।