- अमृत कुमार महतो
स्थानीय सरकार पाँच बर्षमा एक पटक फेरिन्छ । तर, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित रहेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा तीन वर्षमै तीनवटा प्रधानाध्यापक फेरिएका छन् । पछिल्लो पटक त तीन महिना नबित्दै प्रधानाध्यापक फेरिएका हुन् । यतिको प्रधानाध्यापक फेरिनुको कारण भने रोचक छ । विद्यालय मात्र नेपालको एउटा यस्तो सस्था हो जुन शिक्षक र अभिभावक कम स्थानीय तहले बढी चलाउँछन् ।
वडाध्यक्ष घुरन महतोले तीन बर्षमा तीन वटा प्रधानाध्यापकलाई स्वागत गर्ने सौभाग्य पाए । पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतोले पनि आफ्नो कार्यकाल दुई जना प्रधानाध्यापक फेरीएको अनुभव सुनाउँछन् । आखिर किन फेरिन्छन् सबैभन्दा बढी प्रधानाध्यापक र शिक्षक ? यो अहिले पशुपतिनगरमा चासोको विषय बनेको छ ।
सबैभन्दा छिटो प्रधानाध्यापक र शिक्षक फेरिने विधालयमा बनरझुल्ला मावि नै किन पर्छ होला ? जहाँ पछिल्लो तीन वर्षमा मात्र दश जना शिक्षक र तीन जना प्रधानाध्यापक फेरिएका छन् । नेपालमा स्थानीय सरकारको आयु पाँच बर्ष हो भने दुई÷तीन महिना पुग्न नपाउँदै विधालयमा भने प्रधानाध्यापक र शिक्षक बदलिहाल्छन् । आखिर कुनचाहिँ फ्याक्टरले चलाउँछ त बनरझुल्ला मावि ?
जस्तो बनरझुल्ला माविको पछिल्लो तीन वर्षको विवरण केलाउँदा त्यहाँ तीन प्रधानाध्यापक परिवर्तन भइसके । पछिल्लो तीन वर्षको अन्तरालमा मात्र त्यहाँ फेरिएका तीन प्रधानाध्यापक हुन् सुर्यदेव महतो, हरिदेव महतो र भोजराज साह । अहिले बनरझुल्ला माविमा बिरेन्द्र कुमार महतो प्रधानाध्यापक रुपमा भित्रिएका छन् ।
पछिल्लो एक वर्षमा मात्र तीन जना प्रधानाध्यापक पुगेका छन् । विद्यालयमा बजेट कम भए पनि बढी खेल्न पाइने भएका कारण स्थानीय सरकारको रोजाइमा विद्यालय पर्ने गरेको छ । अहिले विधालयको भवन निर्माणसँग ठूलो बजेट जोडिएको छ । जहाँ धेरै रकम चलाउन पाइन्छ । त्यस्तै, शिक्षक सरुवा बढुवामा स्थानीय सरकारको स्वार्थ जोडिएको विद्यालयको कर्मचारीहरु सुनाउँछन् ।
शिक्षक मात्र होइन, शिक्षक फेरिएसँगै विधालयमा प्रधानाध्यापकसमेत फेरिन्छन् । शिक्षक र प्रधानाध्यापक फेरिँदा विधालयको योजना र नीति फेरिन्छन् ।
पछिल्लो वर्षदिनयता बनरझुल्ला माविमा मावि तहका शिक्षक भोजराज साहलाई हटाएर निमावि तहका बिरेन्द्र कुमार महतोलाई प्रधानाध्यापक बनाएर विद्यालय संचालनमा ल्याएको छ । विशेष गरेर बनरझुल्ला मावि प्रधानाध्यापक भन्दा पनि राजनीतिक व्यवसायीले चलाउने गरेको अभिभावकहरुको अनुभव छ । विद्यालयसंग जोडिएका बालबालिका हकमा गुणस्तरीय शिक्षाका लागि नियम परिवर्तन गर्न मात्र खोजिँदासमेत प्रधानाध्यापक र शिक्षक फेरिने गर्छन् ।
विधालयको एक कर्मचारीका अनुसार गाउँका केही नेताहरुको स्थानीय सरकारसँग पहुँच हुने गर्छ । उनीहरू राजनीतिसँग जोडिएका हुन्छन् । सानोभन्दा सानो नेताको पक्षमा निर्णय भएन भने प्रधानाध्यापक नै फेरिन्छन्, यो वा त्यो बहानामा ।
अर्काेतिर एसइइ परीक्षा नजिकै हुँदा मावि विधालयमा मावि शिक्षक फेरिँदा असर पुगेको । शिक्षक फेरिए पनि प्रधानाध्यापक फेरिनु भएन तर त्यसो हुदैन । प्रधानाध्यापक फेरिएसँगै कक्षा शिक्षक बदल्दा स्थायित्व हुदैन, यसले समग्र शिक्षा प्रणालीमा असर पुग्छ । यसर्थ विद्यालय नेपालको एउटा यस्तो सस्था हो जुन प्रधानाध्यापक र शिक्षक नभएर स्थानीय सरकारले चलाउँदै आएका छन् ।
जसको पछिल्लो कडी बनरझुल्ला माविमा विद्यार्थीले गरेको तालाबन्दीलाई लिन सकिन्छ । शिक्षालाई सुधार गर्न खोज्दा हरिदेव महतो र भोजराज साह जस्तो मावि शिक्षक सरुवा भयो । सुर्यदेव महतोको हकमा पनि भएको त्यही हो ।