पत्रकार महतोलाई प्रहरीले मानसिक यातना दिएकोप्रति महासंघको ध्यानाकर्षण



द पब्लिक टुडे
बर्दिवास, फागुन २२ गते ।

महोत्तरीका पत्रकार रोशन कुमार महतो(कोइरी)लाई मानसिन यातना दिने मनसायले लिएको बयानप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार दिउँसो करिव २ बजे प्रहरी उपरीक्षक नकुल पोखरेलको निर्देशनमा इलाका प्रहरी कार्यालय वर्दिवासका प्रहरी निरीक्षक राजेश बर्तोलाले ’द पब्लिक टुडे’ राष्ट्रिय दैनिक पत्रिका सम्बाददाता रोशन कुमार महतोलाई कार्यालयमा बोलाई मानसिक यातना दिने मनसायले बयान लिएको घटनामा महासंघले आपत्ति जनाएको हो ।

बुधवार शाखाले प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाको घोर भत्र्सना गरेको छ । रातु खोला दोहनको विषयमा जिल्ला अनुगमन समितिले गरेको अनुगमनमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ महोत्तरी शाखालाई जानकारी नदिई गोप्य रुपमा अनुगमन गरेको भन्दै यो कार्य संदेहपूर्ण देखिएको पनि उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सोही अनुगमनलाई लिएर पत्रकार महतोले फेसबुकमा लेखेको स्टाटस र समाचारको प्रसंग कोट्याएर दबाब दिँदै प्रहरीले पत्रकार महतोसँग बयान लिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको महासंघले ठहर गरेको छ ।

शाखाका सचिव रामनारायण महतोद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरीले गरेको यस्तो कार्यलाई सच्याउन जोडदार माग गरेको छ । महासंघले पत्रकारहरुलाई निर्भयताका साथ काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

Scroll to Top