मिथिला माध्यमिकी परिक्रमा पर्वता पुग्दै



द पब्लिक टुडे
गौशाला, फागुन २३ गते ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको यात्रा समाप्त भएर आजदेखि धनुषाको पर्वता पुगेको छ । बिहीबार कञ्चनवन पुगेर होलीमय बनेको परिक्रमावासी शुक्रवार बिहानैदेखि पर्वताका लागि प्रस्थान गरेका छन् ।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली आठौं दिन कञ्चनवन पुगेको थियो भने आजको विश्रामस्थल पर्वता रहेको छ ।

आज रात्री विश्रामस्थल पर्वतामा बसेपछि भोली धनुषाधामका लागि निस्किने छ । त्यस्पछि सतोषर र औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

Scroll to Top