द पब्लिक टुडे
गौशाला, फागुन १० गते ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरुडा नगरपालिकामा रहेका १० निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले बिहीबार साँझ अनुगमन गरी जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन् ।
गरुडा नगरपालिका–४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति आँखा हस्पिटल प्रालि, गौर आँखा अस्पताल, गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका–५ स्थित आनन्द हस्पिटल प्रालिलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले बताए ।
उनका अनुसार अस्पताल सेवा सञ्चालन अनुमति वा दर्ता नगरेका, लामो समय देखि नवीकरण नगराएका र कानुनी प्रावधान विपरीत निर्धारित संख्या भन्दा बढी शय्याको अस्पताल सेवा सञ्चालन गरेकालाई बन्द गर्न भनिएको छ ।
अनुगमन समितिले बन्द गर्न लिखित पत्र दिँदै मापदण्ड पुरा गरि मात्र सञ्चालन गर्न सुझाव दिएको छ । यसअघि चन्द्रपुर नगरपालिकाका १० वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिइसकेका छन् ।