गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ



काठमाडौं, फागुन २३ गते ।

सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ।

प्रहरीले राजविराज नगरपालिका–९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ।

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार फागुन १९ गते बिहान १० बजे साहको गोदाममा छापा मारी गाँजा बरामद गरेको हो ।

यसक्रममा उक्त गोदाममा बस्दै आएका भारत बिहार राज्य मधुवनी ग्राम पञ्चायत कुकुरदौरा-१० का ६६ वर्षीय रामनारायण यादव पक्राउ परेका छन् ।

यादव उक्त घरमा भाडामा बस्दै आएका थिए। उनलाई २१ गते दिउँसो ४ बजे गोदाम घरअगाडिबाट पक्राउ गरिएको खतिवडाले बताए ।

सप्तरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी गाँजा ओसारपसार तथा भण्डारणबारे जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक खतिवडाले यादवले भारत तस्करी गर्ने प्रयोजनका लागि गाँजा भण्डारण गरेर राखेको बताए ।

‘उनले कहाँबाट यति ठूलो परिमाणमा गाँजा जम्मा पारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘यो गाँजा भारत तस्करीका लागि राखिएको भन्ने हामीले बुझेका छौं ।’

Scroll to Top