मिथिला माध्यमिकी परिक्रमाको धार्मिक मान्यता

काडमाडौँ, फागुन २९ गते

जय रघुनन्दन सीताराम
सवकोई मिलक बोलु जय सिया राम
सीताराम जय सीताराम

मर्यादा पुरुषोत्तम भगवान श्रीराम र सीताको जयजयकार गर्दै साधु, सन्त, योगी र सर्वसाधारण भक्तजनको लावालस्करसहित लाखौंको संख्यामा निस्केको पन्ध्रदिने धार्मिक यात्रा आज जनकपुरधाममा फर्किएको छ । नेपाल–भारतबीच सदिऔँदेखि रहँदै आएको धार्मिक तथा सांस्कृतिक सम्बन्धका रूपमा हेरिएको १५ दिने यो धार्मिक यात्रालाई नेपाल–भारत धार्मिक–सांस्कृतिक सम्बन्धको सेतुको रूपमा लिने गरिन्छ । यसलाई मिथिला माध्यमिकी परिक्रमा भन्ने गरिन्छ ।

यही फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत् रूपमा प्रारम्भ भएको थियो । फागुनको आँैशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी एक सय २० किलोमिटर भू–भाग साधुसन्तलगायत भक्तजनले पैदलयात्रा गर्ने गर्दछन् । नेपालको महोत्तरी र धनुषाका गरी १२ स्थान तथा भारतको बिहार प्रान्तको मधुवनी जिल्लाका तीन स्थान गरी १५ स्थान परिक्रमा गरी माध्यमिकी परिक्रमाको धार्मिक यात्रा पूरा हुन्छ । १५ स्थानमा रातको बास बसी फाल्गुण पूर्णिमा (फागुन २९) का दिन जनकपुरमा अन्तगृह परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा समापन गर्ने गरिन्छ ।

मिथिलामा बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गर्ने चलन छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको सङ्ख्या अहिले पनि उल्लेख्य छ । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी कीर्तनसहित मौलिक पहिरनमा लाखाँै नरनारी सहभागी हुने गर्छन् यो परिक्रमामा । लावालस्करसहित मिथिलाको चारै स्थानका धार्मिक स्थलको परिक्रमा गर्ने परम्परा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ । यस परिक्रमामा विशेषगरी नेपालको धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र भारतको मधुवनी, अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गाका साधुसन्तहरू उल्लेख्य रूपमा सहभागी हुने गरेको पाइन्छ ।

मधेशकै महाकुम्भका रूपमा मानिने यो मिथिला माध्यमिकी परिक्रमाका यात्रुहरू १४औँ दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औँ दिन जनकपुरधाममा फर्किएको हो । जनकपुरधाम प्रवेश गरेका तीर्थयात्री ऐतिहासिक बाह्रविघा रङ्गभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानमा विश्राम गर्नेछन् । फागु पूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । यसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजन पनि सामेल हुने गर्छन् । यस परिक्रममा लाखौँ श्रद्धालु सहभागी हुने गर्दछन् ।

धार्मिक जनविश्वासअनुसार, मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजन विभिन्न रोग, दुःख–कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने आस्था राख्छन् । त्यसैले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतको बिहार–सितामढी, मधुबनी, दरभङ्गा आदि स्थानबाट लाखौँ श्रद्धालु एवं साधुसन्त यसमा सहभागी हुने गर्छन् । परिक्रमा यात्रामा सहभागीहरूले खानपानका सामग्री तथा आवश्यक बन्दोबस्तीका सामानसहित यात्रा गर्छन् । परम्परागत बाजागाजा, झाँकी, कीर्तन तथा मौलिक पहिरनमा विशेषतःपाका उमेरका नरनारीहरू सहभागी हुने गर्छन् ।

मिथिला परिक्रमामा सहभागी हुनेले १५ दिन नाङ्गै खुट्टा यात्रा गर्नुपर्ने परम्परा छ । त्यसैले यो परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राका रूपमा पनि लिइन्छ । परिक्रमाका सहभागीले १५ दिनसम्म लसुन, प्याज र मांसाहार त्याग गर्नुपर्छ । यात्राका सहभागीले एक छाक मात्रै खाना खाने प्रचलन पनि रहेको छ । यात्रीले परिक्रमा अवधिभर गृह प्रवेश नगर्ने र खुला आकाशमुनि पाल टाँगेर वनवास जस्तै जीवनशैली अपनाउनुपर्ने परम्परा छ । यात्राका क्रममा यात्रीले दिनरात मर्यादा पुरुषोत्तम राम र सीताको भजनकीर्तन गर्ने गर्छन् ।

परिक्रमाको प्रत्येक विश्रामस्थल र यात्राका क्रममा पर्ने गाउँका सर्वसाधारणले परिक्रमाका सहभागी यात्रीलाई खाद्यान्न र बासको सक्दो उत्तम प्रबन्ध गर्छन् । परिक्रमाका सहभागी यात्रुलाई खाद्यान्न दान गरे परिक्रमा गरेसरहकै फल प्राप्ति हुने जनविश्वासका कारण विश्रामस्थल र यात्राका क्रममा पर्ने गाउँवासीले खाद्यान्न दान गर्ने र स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउने गरेको पाइन्छ । परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मबाट भएका पाप नष्ट भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ । परिक्रमामा सहभागी हुँदा १०८ तीर्थ बराबरको फल प्राप्त हुने जनविश्वास छ ।

माध्यमिकी परिक्रमाको शुरुआत

प्रत्येक वर्ष मनाइने मध्यमा परिक्रमा मिथिलाञ्चलकै १५ दिवसीय महाकुम्भका रूपमा चर्चित छ । परिक्रक्रमा बृहत्, मध्य र अन्तगृह गरी तीन प्रकारका हुन्छन् । बृहत् परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गङ्गा र पश्चिममा गण्डकसम्मको परिक्रमापछि मात्र सम्पन्न हुन्छ । यो निकै कठिन परिक्रमा मानिन्छ । माध्यमिकी परिक्रमा १८औँ शताब्दीभन्दा पूर्वदेखि मनाइँदै आएको विश्वास छ । परिक्रमा यात्रा यकिनसाथ कहिले शुरु भएको भनेर कहीँकतै उल्लेख नभए पनि सियालाल प्रभंस नामका सन्तले १०-१२ जना साधु मिलेर परिक्रमा शुरुआत गर्नुभएको भनाइ छ । सियालाल प्रभंसको समय भन्नाले १७५ वर्षअघिको अवस्थालाई जनाउँछ । त्यही परिक्रमाले विस्तारै सङ्ख्या बढ्दै र चर्चा पाउँदै गएको पाइन्छ । त्यसपछि मिथिला बिहारी (राम) को डोला र पछि कशोरीजीको पनि डोला शुरु भएको मान्यता छ ।

माध्यमिकी परिक्रमा अर्थात् पञ्चकोशी परिक्रमाले नेपाल–भारतको ८० कोसको वृत्ताकारमा यात्रा तय गर्छ । वर्षमा एक पटक विशाल रूपमा तीर्थालुहरू मोक्ष प्राप्तिका लागि मिथिलाको माध्यमिक परिक्रमा गर्छन् । वास्तवमा राजा जनकको राजधानी जनकपुरलाई परिक्रमा गर्नु माध्यमिकी परिक्रमा हो भन्ने भनाइ पनि छ । मिथिला महात्म्यमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरूले छोटो दुरीको अन्तगृह परिक्रमा गर्नुपर्ने उल्लेख गरिएको छ । अन्तगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम नगरपालिकाभित्र पर्छ ।

विष्णुपुराण अन्तर्गतको मिथिला महात्म्यको अध्याय–१२ को ३३ श्लोकमा मिथिला परिक्रमाका बारेमा विस्तृत वर्णन गरिएको पाइन्छ । मिथिला माध्यमिकी परिक्रमाका १५ वटा विश्रामस्थल छन् । सबै विश्रामस्थल लगभग पाँच कोसको दूरीमा छन् अर्थात् ती १५ किलोमिटरभित्रै पर्छन् । राजा जनक शिवभक्त थिए । उनैले जनकपुरको पूर्व र दक्षिण कुनामा स्थापना गरेको कल्याणेश्वर महादेवस्थानबाट माध्यमिकी परिक्रमा प्रारम्भ हुन्छ । यो परिक्रमालाई विस्तार गर्ने काम जानकी मन्दिरका महन्थ सुरकिशोर दासले गर्नुभएको भनाइ छ ।

माध्यमिकी परिक्रमाको विश्रामस्थलहरु

मध्य परिक्रमा अर्थात् पञ्चकोशी परिक्रमाअन्तर्गत ८० कोशको वृत्ताकारमा घुम्नु पर्दछ । यस क्रममा विभिन्न विश्रामस्थल पर्दछन् ।

हनुमानगढी : फागुण अमावश्याका दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी (मिथिलाविहारी) को डोलाका सहभागीले जानकी मन्दिर हुँदै बाजागाजासहित हनुमानगढीमा राति विश्राम लिन्छन् । यहाँ सयौँ वर्ष पुरानो हनुमानको विशाल मूर्ति रहेको छ ।

कल्याणेश्वर (कलना) : विश्रामको दोस्रो पडावस्थल भारतको कल्याणेश्वर अर्थात् कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर छ । राजर्षि जनकले आफ्नो राजधानीका चारै कुनामा स्थापना गरेका चार महादेवमध्ये यो एक हो ।

गिरिजास्थान (फुलहर) : कल्याणेश्वरस्थानबाट चार कोस दक्षिणपश्चिमस्थित गिरिजास्थान तेस्रो दिनको पडावस्थल हो । त्रेतायुगमा सीताले फुल चुनिरहेका बेला यहाँ रामको पहिलो भेट भएको किंवदन्ती छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र पूmलबारी रहेको छ ।

मटिहानी : माध्यमिकी परिक्रमाको चौथो दिन अर्थात् फागुण शुक्ल तृतीयाका दिन महोत्तरी जिल्लाको पहिलो विश्रामस्थल मटिहानी प्रवेश गर्छ । यहाँ सीताजीको मटकोरका लागि माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मीसागर (पोखरी) र लक्ष्मीनारायणको मन्दिर छ ।

जलेश्वर : परिक्रमाका यात्री मटिहानीबाट चौथो दिन जलेश्वर पुग्छन् । यो स्थल मटिहानीबाट दुई कोस पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पूजा आराधना गर्ने गरिन्छ ।
मडै : फागुण शुक्ल पञ्चमीका दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छ । प्राचीनकालमा यहाँ माण्डव ऋषिको आश्रम र सीताजीको बिहेका लागि मडवा (वेदी) बनाइएको जनश्रुति पाइन्छ ।

धु्रवकुण्ड : मडैबाट सातौँ दिन धु्रवकुण्ड पुगिन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुवकुण्ड रहेको छ ।

कञ्चनवन : ध्रुवको दर्शन गरेर परिक्रमाका यात्री महोत्तरीको अन्तिम पडावस्थलका रूपमा रहेको कञ्चनवनमा सप्तमीका दिन पुगी विश्राम लिन्छन् । यहाँ इच्छावती र विरजा गङ्गाको सङ्गमस्थल भएकाले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवनलगायतका १२ वटा रमणीय वन थिए । त्रेतायुगमा यहाँ भगवान् रामले होली खेलको किंवदन्ती छ । यहाँ यात्रीले अबिर खेली होली मनाउने गर्छन् ।

पर्वताः : नवौँ दिन यात्रीले धनुषाको पर्वतामा विश्राम लिन्छन् । राजा जनकद्वारा स्थापित छिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।

धनुषाधाम : पर्वताबाट १० औँ पडावस्थलका रूपमा रहेको धनुषाधाममा यात्री पुग्छन् । सीताको स्वयंवर हुँदा मर्यादा पुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा यहाँ खसेको विश्वास छ । यहाँ सीताराम, हनुमानलगायतका मन्दिर छन् ।

सतोषर : फागुण शुक्ल दशमीका दिन परिक्रमाका सहभागी डोलासँगै सतोषर पुग्छन् । यहाँ सात वटा पोखरी, शिव र सीतारामका मन्दिर छन् ।

औरही : विमला नदीको तटमा रहेको औरहीमा १२ औँ दिनको विश्राम लिइन्छ ।

करुणा : नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणातिर लाग्छ । १३ औँ दिनको बास करुणामा हुन्छ । यहाँ करुणा नामको नदी विख्यात छ ।

विशौल : करुणाको विश्रान्तिपछि परिक्रमाका यात्रु चतुर्दशीका दिन भारतको विशौल पुग्ने गर्छन् । यहाँबाट कमला नदी बग्छ । यहाँ ऋषि विश्वामित्रको मन्दिरसमेत छ ।

जनकपुर : परिक्रमाको अन्तिम पडावस्थल जनकपुरमा यात्रीले विश्राम लिन्छन् । यहाँ रातको विश्रामपश्चात् अन्तिम प्रहरमा अन्तगृह परिक्रमा गरिन्छ । जानकी र राममन्दिरलाई केन्द्रविन्दु मानी यात्रीले अन्तगृह परिक्रमा गर्ने गर्छन् । यसपछि मिथिलामा होली प्रारम्भ हुन्छ ।

Scroll to Top