वीरगञ्ज, वैशाख १ गते ।
हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू) आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।
नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधआज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साकाका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए ।
‘‘नयाँवर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधआज्ञाको कारणले होटल छाडेर फर्किनुभएको छ,’’ उनले भने, ‘नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धरासायी हुने अवस्थामा पुगेको छ ।’’ अध्यक्ष पन्तले नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँवर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने गर्दथ्यो । तर,अहिले भने निषेधआज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाइरहेका छैनन् । नयाँ वर्षको पूर्वसन्ध्यामा निषेधआज्ञा० चैत ३० गते बेलुका ६।३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर रुपमा निषेधआज्ञा जारी भएको थियो ।
उनले नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भएको भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको दाबी गरे । वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारे होटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटल लगायतका रहेका छन् ।
वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन् ।‘‘बन्द हड्तालको कारणले होटलमात्रै नभएर सबै खालका व्यापार व्यवसायमा प्रत्यक्ष असर पार्दै आइरहेका छन्,’’ उनले भने, ‘‘बन्द ,हड्ताल , निषेधाज्ञा लगायतका गतिविधि सधैँका लागि बन्द गर्नुपर्नेमा यस्तो गतिविधि हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुने गरेको छ ।’’