गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तक उपयोगी : प्रथम राष्ट्रपति डा. यादव



काठमाडौँ, वैशाख ८ गते ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादवले गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तक महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

ललितपुरको भैँसेपाटीस्थित निवासमा आज राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रथम राष्ट्रपति डा. यादवले गणतन्त्र स्थापनापछि केही भएन भन्नेहरुका लागि तस्बिर सङ्गहित पुस्तक गतिलो जवाफ भएको बताए ।

उनले गणतन्त्रपछिको पछिल्लो अवधिमा ‘मुलुकमा विकास निर्माणको अवस्था कस्तो छ, प्रगति के भए, सांस्कृतिक पक्ष कुन अवस्थामा छ र ती सम्पादको संरक्षण र निरन्तरता’ लगायतका विषयवस्तुलाई समेटेर तयार गरिएको फोटो पुस्तक अत्यन्त उपयोगी भएको धारणा व्यक्त गरे ।

प्रथम राष्ट्रपति डा. यादवले भने, “राससले प्रकाशन गरेको फोटो पुस्तक आफैमा महत्वपूर्ण छ, पुस्तकले केवल तस्बिर, संस्कृति र विकास निर्माणका बारेमा मात्र बोल्दैन, नयाँ र पुराना पुस्तालाई जोड्ने काम पनि गरेको छ । अहिलेका नयाँ पुस्तालाई इतिहासको विभिन्न कालखण्डका रीतिरिवाज, चालचलन र विकास निर्माणसँग सम्बन्धित गतिविधिलाई समेत जानकारी गराउन यो पुस्तक अत्यन्त महत्वपूर्ण दस्तावेदका रुपमा स्थापित हुनेछ ।”

फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र प्राप्तिपछिको उपलब्धिसहित विकास निर्माणको झलक दिने फोटो पुस्तक गणतन्त्रको संस्थागत विकासका पक्षमा उपयोगी हुने विश्वास व्यक्त गरे ।

गणतन्त्र दिवसका उपलक्ष्यमा राससद्वारा गत दुई वर्ष आयोजित प्रदशर्नीमा राखिएका तस्बिरहरूलाई समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले यसअघि जस्तै कुनै एक विषयमा केन्द्रित भई तस्बिर प्रदशर्नी जस्तो रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटो पत्रकारले खिचेका एक सय ८२ वटा तस्बिर समावेश छन् ।

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र फोटो पत्रकार विकल्प दाहालको उपस्थिति थियो ।

Scroll to Top