अन्तरराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न



चितवन, वैशाख २१ गते ।

तीनदिने दोस्रो अन्तरराष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्याको बढ्दो भार र गुणस्तरीय सेवा आवश्यकताको गहिरो खाडल रहेको सम्मेलनले औँल्याएको छ ।

घोषणापत्र जारी गर्दै सम्मेलनले मानसिक स्वास्थ्य समस्याबारे समाजमा व्याप्त कलङ्क र बिरामीमाथि हुने भेदभावको अन्त्य गर्नुपर्नेमा जोड दिए । सबै क्षेत्रमा मानसिक स्वास्थ्य पेसाकर्मीको कमी रहेको घोषणापत्रमा औँल्याइएको छ । जारी घोषणापत्रमा स्वास्थ्यकर्मीमा मानसिक थकान र समस्याको बढ्दो जोखिम तथा जनशक्ति पलायनको समस्या रहेको उल्लेख गरेको छ ।

मानसिक स्वास्थ्यका क्षेत्रमा सरकार, सार्वजनिक संस्था तथा गैरसरकारी संस्थाले गरेको प्रयासलाई घोषणापत्रमा सराहना गरिएको छ । सर्वोच्च अदालतले मानसिक स्वास्थ्य सेवाको उपलब्धता र संवद्र्धनका निम्ति सरकारलाई दिएको ऐतिहासिक निर्देशनात्मक आदेशको उच्च सराहना एवं स्वागत गर्दै सम्मेलनले नेपालमा मानसिक स्वास्थ्य सेवाको प्रवद्र्धनका काम गर्न सरकारलाई घच्घच्याइएको छ ।

सबै तहका सरकार तथा गैरसरकारी क्षेत्रबीच समन्वय, सहकार्य र सहयोगमा वृद्धि गरी मानसिक स्वास्थ्य सेवासम्बन्धी संवैधानिक अधिकार सुनिश्चित गर्न सम्मेलनले माग गरेको छ । समुदायमा मानसिक स्वास्थ्यका बारेमा सचेतना अभिवृद्धि तथा अधिकार–आधारित मानसिक स्वास्थ्य प्रवद्र्धन, रोकथाम, उपचार र पुनः स्थापनामा सशक्तीकरण गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

चितवन मेडिकल कलेजमा आयोजित कार्यक्रम नेपाल र अमेरिकालगायतका विदेशमा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थाले संयुक्त रुपमा आयोजना गरेका हुन् । सम्मेलनमा नेपाल, भारत, नर्वे, अमेरिकालगायतका देशबाट ३०० भन्दा बढी सहभागी हुनुहुन्छ । वैज्ञानिक सत्रमा १०० भन्दा बढी शोधपत्र प्रस्तुत गरिएका थिए ।

Scroll to Top