हैदराबाद, वैशाख २२ गते ।
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल वर्षाका कारण पूरा हुन पाएन । यससँगै दुवै टिमले १–१ अंकमा चित्त बुझाएका छन् ।
यो नतिजासँगै हैदराबादको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । १ सय ३४ रनको लक्ष्य पाएको हैदराबादले वर्षा भएपछि जवाफी इनिङ्सको एउटै बल खेल्न पाएन । गत वर्षको उपविजेता हैदराबादलाई प्रतियोगितामा कायम रहन यो खेल जित्नैपर्ने थियो, तर भाग्यले उसलाई साथ दिएन ।
यो खेलपछि दिल्ली १३ अंकमा पाँचौं स्थानमा रह्यो । दिल्लीलाई पनि यो नतिजाले घाटा पुग्नेछ । हैदराबाद भने ७ अंकसहित आठौं स्थानमा रह्यो । राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सको पनि प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
टस जितेर हैदराबादले पहिले फिल्डिङको निर्णय गरेको थियो । यो सही पनि साबित भयो । कमजोर सुरुआत लिएको दिल्ली २० ओभरमा ७ विकेट गुमाई १ सय ३३ रनमै समेटिएको थियो । इनिङ्सको पुछारतिर ट्रिस्टन स्टब्स र आशुतोष शर्माले समान ४१ रन बनाएपछि मात्र स्कोर केही सम्मानजनक देखिएको थियो । स्टब्स ३६ बलमा ४ चौका प्रहार गरेर नटआउट रहे । शर्माको २६ बलको इनिङ्समा भने २ चौका र ३ छक्का सामेल थियो । त्यसअघि दिल्लीले २९ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको थियो । ओपनर करुण नायर इनिङ्सको पहिलो बलमै शून्यमा आउट भएपछि टिमले सम्हालेर खेल्न सकेन । फाफ डु प्लेसिस ३, अशिषेक पोरेल ८, केएल राहुल १० र कप्तान अक्षर पटेल ६ रनमै आउट भएका थिए । विपराज निगमले १ चौका र १ छक्कासहित १८ बनाएर आउट भए ।
हैदराबादका लागि कप्तान प्याट कमिन्सले घातक बलिङ गरे । उनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । उनका तीनै सिकार दिल्लीको माथिल्लो क्रमका ब्याटर थिए । एजेन्सी