तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा



मुम्बइ, जेठ १० गते ।

कर्नाटक सरकारमा राजनीतिक उथलपुथल भएको  छ । प्रतिपक्ष मात्रै होइन, जनताले पनि यतिखेर कर्नाटक सरकारको तिब्र आलोचना गरिरहेका छन् । विपक्षीले कर्नाटक सरकारका मन्त्री एमबी पाटिलविरुद्ध मोर्चा खोलेका छन, कारण हो बलिउड, तलिउड नायिका तमन्ना भाटिया ।

खासमा कर्नाटक सरकारले उनलाई मैसूर स्यान्डल सोप कम्पनीको ब्रान्ड एम्बेसडर बनाए पछि सरकार घेराबन्दीमा परेको हो । स्थानिय जनता र प्रतिपक्षले मन्त्री पाटिलमाथि प्रश्न उठाएका छन् र उनको राजीनामाको समेत माग गरिरहेका छन् ।

जनताले सामाजिक सञ्जालमा सरकारविरुद्ध मोर्चा खोलेका छन् । उनीहरूको प्रश्न छ, के कर्नाटकमा स्थानिय फिल्म अभिनेत्रीहरू छैनन् ?  प्रतिपक्षले यो विषय उठाउँदै सरकारलाई घेरेको हो । तमन्नालाई ब्राण्ड एम्बेसडर बनाउने साबुन कम्पनीलाई सरकारको सहयोग रहेको छ, जसका कारण स्थानिय अभिनेत्रीसँग काम नगरी बलिउड अभिनेत्रीसँग काम गरेको उनीहरूको भनाइ छ । 
 

उनीहरू भन्छन् कि कर्नाटकबाट स्थानीय सेलिब्रिटी छनोट गर्नुको सट्टा तमिलनाडु फिल्म अभिनेत्री तमन्ना भाटियालाई स्थानीय साबुनको विज्ञापनको लागि किन छनोट गरियो ? यसले ‘स्थानीय प्रतिभालाई बेवास्ता गरेको’ र ‘कर्नाटकको गौरव’ मा चोट पुगेको उनीहरूको भनाइ छ ।

प्रदेश सरकारले गत बिहीबार ब्रान्ड एम्बेसडरको औपचारिक घोषणा गरेको थियो । लगत्तै तमन्नालाई ब्रान्ड एम्बेसडर बनाएको सूचना इन्टरनेटमा भाइरल भयो । मनी कन्ट्रोलको रिपोर्टका अनुसार यस सम्झौता अन्तर्गत तमन्नाले आगामी दुई वर्षसम्म हेरिटेज ब्रान्डको प्रवद्र्धन गर्ने छिन् । तमन्ना यस साबुनको प्रचार गर्ने दोस्रो गैर–स्थानीय ब्रान्ड एम्बेसडर हुन् । यसअघि सन् २००६ मा पूर्व भारतीय कप्तान एमएस धोनीले यो साबुनको प्रचार गरेका थिए ।

केएसडिएललाई पनि सार्वजनिक खरिद ऐनको कर्नाटक पारदर्शिताको धारा ४ (जी) अन्तर्गत अभिनेतालाई ६.२ करोड रुपैयाँ प्रत्यक्ष भुक्तानी गर्न छुट दिइएको छ । यो साबुनको ब्रान्ड कर्नाटक सरकारको स्वामित्वमा रहेको कम्पनी ‘मैसूर स्यान्डल सोप’सँग सम्बन्धित छ । यो साबुनलाई प्रवर्द्धन गर्न र जनतामाझ पुनः लोकप्रिय बनाउन एक प्रसिद्ध अनुहार आवश्यक थियो । यसका लागि चलचित्र अभिनेत्री तमन्ना छनोट गरिएको हो । उनी दक्षिण सिनेमाको चर्चित व्यक्तित्व मानिन्छिन् ।

उता, कर्नाटक सरकारका उद्योग मन्त्री एमबी पाटिलले तमन्ना विवादमा स्पष्टीकरण दिएका छन् । तमन्नालाई उनको ‘ब्राण्ड भ्यालु’ र ‘व्यापक मान्यता’का आधारमा मात्रै छनोट गरिएको उनको भनाइ छ, जसले गर्दा युवामाझ ब्राण्डको पहिचान पुनः निर्माण गर्न सकिन्छ । उनले यसमा कुनै राजनीति वा क्षेत्रीयता नभएको स्पष्ट पारेका छन् ।

यद्यपि, भाजपा र जेडीएस नेताहरूले मन्त्रीले व्यक्तिगत प्रचारको लागि ‘सरकारी सम्पत्ति’ लाई माध्यम बनाएको आरोप लगाएका छन् । भाजपा नेताले कडा प्रतिक्रिया दिदै भने ‘सरकारी कम्पनीलाई कर्नाटकको पहिचानका रूपमा प्रस्तुत गर्नुपर्छ, बाहिरबाट सेलिब्रेटीलाई अगाडि ल्याएर होइन । यो स्थानीय कलाकारको अपमान हो ।’

Scroll to Top