द पब्लिक टुडे
गौशाला, असार २६ गते ।
मधेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
यस्तै, वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय बैठकले गरेको छ । खानेपानी सङ्कट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्करसहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।





