बंगलादेशसँग पाकिस्तान ७ विकेटले पराजित



द पब्लिक टुडे
गौशाला, साउन ५ गते ।

पाकिस्तानविरुद्धको टी–२० आई सिरिजको पहिलो खेलमा घरेलु टिम बंगलादेश विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा घरेलु टिम बंगलादेश ७ विकेटले विजयी भएको हो ।

पहिलो खेलमा पाकिस्तानले दिएको १ सय ११ रनको सामान्य लक्ष्य बंगलादेशले १५.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि परवेज हुसेन इमनले अर्धशतकीय पारी खेले ।

उनले ३९ बलमा पाँच छक्का र तीन चौकासहित नटआउट ५६ रनको पारी खेलेका हुन् । यस्तै, तौहिद हृदयोयले ३६ र जकर अलीले अविजित १५ रन बनाए । पाकिस्तानका लागि सलमान मिर्जाले दुई तथा अब्बास अफ्रिदीले एक विकेट लिए ।

त्यसअघि मिरपुरस्थित शेरे बंगला नेशनल स्टेडियममा टस हारेर ब्याटिङ रोजेको पाकिस्तान १९.३ ओभरमा १ सय १० रनमै अलआउट भयो । उसका लागि फखर जमानले ४४, अब्बास अफ्रिदीले २२ तथा खुसदिल साहले १७ रन जोडे ।

जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल मंगलबार खेल्ने छ ।

Scroll to Top