एजेन्सी, भदौ १३ गते ।
भारत र क्यानडाले दुवै देशमा आफ्ना उच्चायुक्तको नियुक्ति गर्ने घोषणा गरेका छन्।
भारत सरकारले वरिष्ठ कूटनीतिज्ञ दिनेश के। पटनायकलाई क्यानडामा भारतका नयाँ उच्चायुक्त नियुक्त गरेको छ। भारतीय परराष्ट्र मन्त्रालयका अनुसार हाल स्पेनका राजदूत रहेका दिनेश के। पटनायक चाँडै क्यानडामा भारतका अर्को उच्चायुक्तका रूपमा कार्यभार सम्हाल्नेछन्।
बीबीसीका अनुसार, क्यानडाले क्रिस्टोफर कूटरलाई भारतमा आफ्नो नयाँ उच्चायुक्त नियुक्त गरेको छ। यो पद गत वर्षदेखि खाली थियो।
क्यानडाकी विदेश मन्त्री अनिता आनन्दले एक वक्तव्यमा भनेकी छन्, ‘नयाँ उच्चायुक्तको नियुक्तिले भारतसँगको कूटनीतिक सम्बन्धलाई विस्तारै गहिरो बनाउँदै द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने क्यानडाको नीतिलाई देखाउँछ।’
भारतका अघिल्ला उच्चायुक्त अक्टोबरमा क्यानडा छोडेका थिए। क्यानडाले अलगाववादी हरदीप सिंह निज्जरको हत्या प्रकरणसँग जोडिएपछि निष्कासित गरिएकामध्ये ६ कुटनीतिज्ञमध्ये उनी एक रहेको बताएको थियो । तर भारतले भने उच्चायुक्तलाई आफैं फिर्ता बोलाएको दाबी गरेको थियो।
भारतले त्यही दिन छ जना वरिष्ठ क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गर्ने आदेश पनि दिएको थियो, जसमा तत्कालीन कार्यवाहक उच्चायुक्त समेत परेका थिए।
भारत–क्यानडा सम्बन्ध पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले भारतको संलग्नता क्यानडामा रहेका सिख अलगाववादी नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणमा रहेको आरोप लगाएपछि चिसिएको थियो । तर भारतले यो आरोपलाई लगातार अस्वीकार गर्दै आएको छ।





