- प्रेम घिमिरे ”अग्निकवच”
मसला,तेल सुगन्धित मेल मिलाई बुकुवा
पहेंलो चिल्लो बनाइ मल्छन् दोबाटो ढुकुवा
चुनावमा पाउ जसरी मल्छन् नेताले जनताको
त्यसरी मल्छन् मासुका चोक्टा यता र उताको।१।
पाडो होस् भैंसी कुखुरा खसी बङ्गुर सुँगुर
सबैको मानमर्दन गर्छन् निर्दयी असूर
बडाका खाना मासुका चाना उनिँदा झिरमा
मतदाता जस्तै मख्ख छ झिर नपरी पीरमा।२।
फूलको माला उनेझैं चाला कौटिल्य नबुझ्दा
बल्छीको चारा हो ज्यानमारा भनेर नसुझ्दा
भुङ्ग्रोमा पोल्दा सहन्छ सँधै त्यो कर्मवीरले
पाकेको सेकुवा हसुर्छ अर्कै सामन्ती किराले।३।
भोकै र प्यासै उनेको मासु सेकाउने झिरको
रामकहानी बुझ्दैनन् कोही पीडित गिरको
काम पर्दा भाँडो नपर्दा ठाँडो मानिने चलन
सेक्नेले सेक्यो कस्ले पो देख्यो झिरको जलन।४।
प्लेटमा सजाई टेबलमाथि राखेर सेकुवा
सितन मिठो मानेर खान्छन् ती घिउ बेचुवा ।
सेकुवाको भाउ सात गुणा बढ्छ त्यही छ नजिर
मिल्किन्छ कुनाकाप्चामा सँधै सेकुवाको झिर।५।
कोइलाको रापमा तेर्सिएर सेकुवा पकायो
सेकुवा खाने मालिकले लात पेटमा टेकायो।
तेर्सिन्छ सँधै घोप्टिन्छ बरू हुँदैन ठाडो शिर
जिन्दगी रापमा बिताउँछ तापमा सेकुवाको झिर।६।





