दिवाकर भण्डारी
सिमरा, भदौ १५ गते ।
बाराको पथलैया–सिमरा सडकखण्डमा आइतबार दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट गुजरा नगरपालिका–७ परसवाका २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका-७ का २८ वर्षीय महेश पण्डित रहेका छन् ।
चौधरीको प्रादेशिक अस्पताल कलैया र पण्डितको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो । मृतक दुवै मोटरसाइकल चालक हुन् । सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा९०प ६७९४ नम्बरको मोटरसाइकल र पथलैयाबाट सिमरातर्फ आउँदै गरेको बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित पानीटंकी नजिक एकआपसमा ठोकिएको हो । पण्डितले १७५३ र चौधरीले ६७९४ नम्बरको मोटरसाइकल चलाएका थिए ।
दुर्घटनामा ६७९४ नम्बरको मोटरसाइकलमा सवार ३४ वर्षीय भूपेन्द्र चौधरी घाइते भएका छन् । चौधरीको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।





