काठमाडौं, मंसिर १९ गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसा नियमहरूमा कडाइ गर्ने आदेश दिएका छन्।
एच–१बी आवेदकहरूले आफ्नो सामाजिक सञ्जाल खातालाई सार्वजनिक (पब्लिक) गर्नुपर्नेछ । यसबाट अमेरिकी अधिकारीहरूले आवेदकको प्रोफाइल, सामाजिक सञ्जाल पोस्ट र लाइकहरू हेर्न सक्नेछन् ।
यदि आवेदकको कुनै पनि सामाजिक सञ्जाल गतिविधि अमेरिकी हितको विरुद्धमा देखियो भने एच–१बी भिसा जारी नगरिने बताइएको छ । एच–१बी का आश्रितहरू (पत्नी, छोराछोरी र बाबुआमा) का लागि एच–४ भिसाको लागि पनि सामाजिक सञ्जाल प्रोफाइललाई सार्वजनिक गर्नु अनिवार्य हुने आदेशमा उल्लेख छ ।
एच–१बी भिसाका लागि सामाजिक सञ्जाल प्रोफाइलको जाँच अनिवार्य गरिएको यो पहिलो पटक हो। नयाँ नियमहरू डिसेम्बर १५ देखि लागू हुनेछन्। ट्रम्प प्रशासनले सबै दूतावासहरूलाई निर्देशन जारी गरेको छ।
अमेरिकाले अगस्ट महिनादेखि अध्ययन भिसा एफ–१, एम–१ र जे–१ का साथै आगन्तुक भिसा बी–१, बी–२ का लागि पनि सामाजिक सञ्जाल प्रोफाइललाई सार्वजनिक गर्ने अनिवार्य गरिसकेको छ ।
उच्च दक्ष पेशेवरहरू जस्तै डाक्टर, इन्जिनियर, सफ्टवेयर पेशेवरहरूलाई एच(१बी भिसा जारी गरिन्छ। सन् १९९० मा अमेरिकी कङ्ग्रेसमा बिलमार्फत यो भिसा अस्तित्वमा आएको थियो।
यसअघि यसको शुल्क लगभग ९ हजार डलर थियो, तर सेप्टेम्बर २०२५ मा ट्रम्पले यसलाई बढाएर लगभग एक लाख अमेरिकी डलर बनाइएको छ ।
यो भिसा ३(३ वर्षको लागि दुई पटक जारी हुन्छ। कुल अवधि ६ वर्षपछि आवेदकले चाहेमा ग्रीन कार्ड अर्थात् नागरिकताभन्दा अघिको चरणका लागि आवेदन दिन सक्छ।
एच(१ बी भिसामा ट्रम्पको ९ वर्षमा कहिले स्वीकार त कहिले अस्वीकार गर्ने खालको दृष्टिकोण रहँदै आएको छ। पहिलो कार्यकाल सन् २०१६ मा ट्रम्पले यो भिसालाई अमेरिकी हितको विरुद्धमा भनेका थिए।
सन् २०१९ मा यो भिसाको अवधि थप (एक्सटेन्सन) लाई निलम्बित गरेका थिए। तर, गत महिना नै यु–टर्न लिँदै उनले भनेका थिए, ‘हामीलाई प्रतिभा (ट्यालेन्ट) को आवश्यकता छ।’
ट्रम्पले एच–१ बी मा परिवर्तनका अतिरिक्त ३ नयाँ प्रकारका भिसा कार्डहरू पनि सुरु गरेका थिए। ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ जस्ता सुविधाहरू पनि सुरु गरिएका छन्। ट्रम्प गोल्ड कार्डले व्यक्तिलाई अमेरिकामा असीमित बसोबास गर्ने अधिकार दिनेछ। एजेन्सी





