बागलुङ, पुस २६ गते ।
गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमै पुगेर क्षयरोगीको खोजी सुरु गरेको छ । गण्डकीका ११ जिल्लामा पुगेर प्रदेश सरकारले छातीको एक्सरेद्वारा क्षयरोगी खोजी सुरु गर्न थालेको हो ।
प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशबाट चिकित्सकसहितको प्राविधिक टोलिले गण्डकी प्रदेशका जिल्लाजिल्लामा पुगेर जाँच सुरु गरिसकेको छ ।
अघिल्लो वर्ष प्रदेशका ११ जिल्लाका विभिन्न क्षयरोगको उच्च जोखिम रहेको पालिकामा पुगेर ३२ हजारभन्दा बढी नागरिकको स्वास्थ्य जाँच गर्दा ४५२ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । यस वर्ष पनि बागलुङसँगै तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा र नवलपुरका विभिन्न स्थानीय तहमा शिविरनै सञ्चालन गरिएको छ ।
शिविर अन्तर्गत शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ का नागरिकको बोबाङ स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गरिएको छ । शिविरमा ३६५ जनाको जाँच गरिएको प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशका ल्याव टेक्निसियन तथा ‘एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल शिविर’ कार्यक्रमका फोकल पर्सन राजेन्द्र रानाभाटले जानकारी दिए ।
रानाभाटका अनुसार १२ जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । सङ्क्रमितलाई औषधि सेवन गराउन सुरु गरेको रानाभाटले बताए । जाँच गरिएकामध्ये ३२ जनामा सङ्क्रमणको लक्षण देखिएपछि थप जाँचका लागि खकार सङ्कलन गरिएको उनले बताए ।
बिहीबार गलकोट नगरपालिकामा २२४ जनाको जाँच गर्दा तीन जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । ११ जना शङ्कास्पदको खकार परीक्षणका लागि सङ्कलन गरिएको रानाभाटले जानकारी दिए ।
स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको स्वास्थ्य, स्वास्थ्य मन्त्रालय र प्रमुख प्राथमिकता भएको भन्दै नसर्ने रोगको निवारणका लागि गाउँगाउँमै शिविर सञ्चालन गरिएको बताए । स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्षदेखिनै यस कार्यक्रम सुरु गरेको र यस वर्ष पनि रु ४० लाख बजेट विनियोजन गरेको उनको भनाइ छ ।
स्वास्थ्यमन्त्री पाठकले भने, “नागरिकलाई स्वस्थ्य राख्नु पर्ने दायित्व सरकारको हो, अघिल्लो वर्षदेखिनै प्रदेश सरकारले क्षरोग न्यूनीकरणका लागि खोजपडताल अभियान चलाएको छ, यस वर्ष पनि उच्च जोखिम रहेको दूरदराजका गाउँमा शिविर चलाएर रोग पत्ता लगाउने काम भइरहेको छ ।”





