महोत्तरीमा १३९ उम्मेदवार



महोत्तरी, माघ ९ गते ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा १३९ उम्मेदवार कायम भएका छन् । गत मङ्गलबार मनोनयनपत्र दर्ता गरेका १४३ जनामध्ये आज चार जनाले उम्मेदवारी फिर्ता लिएपछि १३९ उम्मेदवार कायम भएका हुन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार यहाँ चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं. १ बाट दुई, क्षेत्र नं. ३ र ४ बाट एक÷एक गरी चार जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए । उम्मेदवारी फिर्ता लिने चारै जना स्वतन्त्र उम्मेदवार छन् ।

जिल्लामा क्षेत्र नं. १ मा पाँच महिलासहित २५, क्षेत्र नं. २ मा पाँच महिलासहित ३७, क्षेत्र नं. ३ मा दुई महिलासहित ४१ र क्षेत्र नं. ४ मा सात महिलासहित ३६ जनाको उम्मेदवारी रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारको अन्तिम टुङ्गोे भएसँगै आज सबैलाई निर्वाचन चिह्न प्रदान गरी अन्तिम सूची प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।

अन्तिम नामावली प्रकाशन भएअनुसार अब ८३ जना स्वतन्त्र र ५६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार मैदानमा प्रतिस्पर्धा गर्दै छन् । दलका लागि निर्वाचन चिह्न पहिलेदेखि तय रहे पनि स्वतन्त्र उम्मेदवारले भने आज निर्वाचन चिह्न पाएका हुन् । निर्वाचन चिह्न प्राप्त गरेपछि अब उम्मेदवारले विधिवत चुनाव प्रचार सुरु गरेका छन् ।

Scroll to Top