काठमाडौँ, माघ १२ गते ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (सोमबार) बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको हो।
हिजो (आइतबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने पछि बिहान ८ः४५ बजे थोरै घटेर ४.२ डिग्री सेल्सियस कायम भएको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८ः४५ बजे मापन गरिन्छ। त्यतिबेला सुरुवाती मापनमा भन्दा काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।
शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यस हिसाबले आज काठमाडौँको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।





