साफ महिला च्याम्पियनसिप: नेपाल भुटानसँग भिड्दै



कास्की, माघ १९ गते ।

पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भूटान दुबैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई भारतले १–० गोलले निरास बनाएको थियो । प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुबै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण रहनेछ । बङ्गलादेश र भारतले भने एक÷एक खेल जितेर समान तीन अङ्क जोडेका छन् ।

प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् ।

प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए ।

Scroll to Top