काठमाडौँ, माघ २० गते ।
राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच टोकियोस्थित इम्पेरियल प्यालेस शिष्टाचार भेटवार्ता भएको हो। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार टोकियो पुगेका हुन्।
भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्। ‘जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वित भएका छन्’, जापानी सम्राट नारुहितोसँगको कुराकानीमा राष्ट्रपति पौडेलले भने।
उनले दुवै देश गौतम बुद्धको शिक्षा र आर्दशबाट प्रेरित रहेको पनि स्मरण गराए। ‘बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ’, राष्ट्रपति पौडेलले भने।
दुवै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाई थियो। ‘यस वर्ष हामीले मनाउँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हामीबीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो,’ उनले भने।
उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुवै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रुपमा सम्राट नारुहितोले गरेको मैत्रीपूर्ण तथा विशिष्ठ भ्रमणका क्रममा काठमाडौँ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण गरे। उनले सन् २०२० मा आफूलाई ग्रान्ड कर्डन अफ द अर्डर अफ द राइजिङ सनबाट विभुषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गरे।
भेटवार्ताका क्रममा जापानका सम्राट नारुहितोले नेपाल–जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताए। उनले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद आफूलाई अझै ताजै रहेको सुनाए।
सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गरे। नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउँदै प्राकृतिक विपदमा दुवै देशले एक–अर्कालाई सहयोग गर्दै आएको उनले स्मरण गरे।





