तोकिएकै मितिमा निष्पक्ष चुनाव हुन्छ : गृहमन्त्री अर्याल



रौतहट, फागुन १५ गते ।

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी तोकिएको मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु रहेको बताएका छन् ।

२१ फागुनमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको रहेको उनको भनाइ छ । राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने तर कानुनविपरीत काम गर्नेलाई कुनै छुट नदिने उनले बताए ।

रौतहटका सुरक्षा अधिकारीलाई गौरमा निर्देशन पश्चात सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री अर्यालले राम्रो नियत र सभ्य व्यवहार गर्ने उम्मेदवार तथा दललाई सहजीकरण गर्ने बताए ।

‘हामी सहजकर्ताको भूमिकामा छौं,’ गृहमन्त्री अर्यालले भने, ‘तर गलत गर्ने, कानुन मिच्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइन्छ ।’

निर्वाचन आयोगको आचारसंहिता अनुसार निर्वाचन सम्बन्धी कसुर गरेमा कारबाही हुने स्पष्ट व्यवस्था रहेको छ । दण्डहीनताको संस्कृतिलाई अन्त्य गर्ने उद्देश्यले कुनै पनि प्रकारको उन्मुक्ति नदिने गृहमन्त्री अर्यालले बताए ।

केही समूहले अनावश्यक आशंका र अफवाह फैलाउने प्रयास गरे पनि गृहमन्त्रीले त्यस्ता हल्लामा कुनै सत्यता नरहेको बताए । ‘सरकार र आयोगको तयारी स्पष्ट छ, निर्वाचन निर्धारित मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ,’ उनले भने ।

गृहमन्त्री अर्याललाई प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटमा निर्वाचनका लागि सुरक्षा तयारीको विषयमा जानकारी गराएका थिए ।

Scroll to Top