काठमाडौँ, चैत ९ गते ।
खाडीका धेरै मुलुकले क्षेप्यास्त्र र ड्रोन आक्रमण सामना गर्न परिरहेको बताएका छन्।
बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत अलार्म साइरन सक्रिय पारिएको र मानिसहरूलाई शान्त रहन र नजिकका सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उल्लेख गरेको छ।
बहराइनले भनेको छ, ‘मानिसहरूलाई आधिकारिक च्यानलमार्फत प्राप्त जानकारी पालना गर्न आग्रह गरिएको छ।’
यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले देशको वायु रक्षा प्रणालीले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्र र ड्रोनको जवाफ दिइरहेको बताएको छ।
यूएईको रक्षा मन्त्रालयले भनेको छ, ‘सुनिएका आवाज क्षेप्यास्त्र र ड्रोन रोक्दाका हुन्।’
उता कुवेतको सेनाले पनि वायु रक्षा प्रणालीले शत्रुको क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको बताएको छ।
कुवेती सेनाको जनरल स्टाफले भनेका छन्, ‘विस्फोट शत्रुको आक्रमणलाई अवरोध गर्ने वायु रक्षा प्रणालीका कारण सुनिएका हुन्।’
कुवेतले सबै मानिसलाई सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।
अमेरिका(इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
बदलामा इरानले पनि अमेरिकी आधार रहेका खाडीका मुलुकमा हवाई हमला गरिरहेको छ।
इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।





