भारतीय अभिनेता प्रदीप रावतको निधन



काठमाडौं, साउन १९ गते ।

भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ ।

ब्लड क्यान्सर (रक्त क्यान्सर) पुनः बल्झिएपछि मुम्बईमा उपचाररत रहेका रावतको मंगलबार निधन भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

रावतका व्यवस्थापक सिद्धार्थ तिवारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार प्रदीप रावत एक महिनाभन्दा बढी समयदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए ।

अभिनेता यशपाल शर्माले पनि रावतको निधनको जानकारी इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गरेका थिए। उनले चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अश्वत्थामाको भूमिका निर्वाह गरेर प्रारम्भिक चर्चा कमाएका थिए ।

पछि उनले लगान, गजिनी, सरफरोश, राउडी राठौर लगायत धेरै फिल्ममा शक्तिशाली खलनायकको भूमिकामा अभिनय गर्दै विशेष पहिचान बनाएका थिए ।

प्रदीपले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ र ‘आबाट आमा’ का दुवै शृंखलामा अभिनय गरेका छन् ।

आबाट आमा–२ दशैंमा प्रदर्शन तयारीमा छ ।

प्रदीपको निधनपछि उनीसँग सहकार्य गरेका नेपाली अभिनेत्री विपना थापा, नीता ढुंगाना लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Scroll to Top