खोटाङ, साउन २२ गते ।
खोटाङमा जंगलमा रोकेर राखेको ट्रकमा एक हजार ३१५ किलो गाँजा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार उक्त गाँजा फेला पारेको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा जाँच गर्दा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
प्र। १–०२–००२ ख ००८३ नम्बरको उक्त ट्रकको चालक बस्ने भाग र पछाडि डालाको बीचभागमा फल्स बटम बनाएर उक्त गाँजा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ट्रकमा कोही नभेटिएपछि प्रहरीले शंका लागेर जाँच गरेको जनाएको छ ।
गाँजा र ट्रकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको छ । ट्रक चालक भने फरार छन् । प्रहरीले चालक र ट्रक धनीको खोजी गरिरहेको बताएको छ ।





