बर्दिबास, भदौ १४ गते ।
माण्डवी गङ्गा (मरहा खोला) नदीमा एक्कासि बाढी आएपछि महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित बरडाँडामा औषधि तथा चिकित्सकसहित जान लागेको स्वास्थ्य टोली बीच बाटोबाटै फर्किएको छ।
पछिल्ला केही दिनयता यहाँ बालबालिकासहित स्थानीयमा भाइरल ज्वरोको प्रकोप फैलिएको खबर सार्वजनिक भएपछि बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाको नेतृत्वमा औषधि तथा आवश्यक उपकरणसहित सात सदस्यीय स्वास्थ्य टोली त्यसतर्फ गएको थियो। तर, नदीमा अचानक बाढी आएपछि टोली प्रभावित क्षेत्रमा पुग्न नसकी बीच बाटोबाटै फर्किएको हो।

टोलीमा डा. रितेश घिमिरे (इन्टरनल मेडिसिन), डा. अम्रेश पोखरेल (मेडिकल अफिसर), प्रशासन अधिकृत दिपेशकुमार काफ्ले, सि.अ.हे.व. अधिकृत रामबाबु यादव, सि.अ.न.मि. शोभा बुढाथोकी, सि.अ.हे.व. अधिकृत बिनोदकुमार साह र ल्याब असिस्टेन्ट राकेशकुमार यादव थिए।
‘
मधेसको कैलास’का रूपमा चिनिने टुटेश्वर क्षेत्रअन्तर्गत पर्ने
बरडाँडामा भाइरल ज्वरोको प्रकोपका कारण बालबालिकासहित स्थानीय प्रभावित भएको टुटेश्वरका नागेन्द्र यादवले बताए। उनका अनुसार गाउँमा सामान्य औषधि तथा सिटामोलसमेत सहजै उपलब्ध छैन।
मधेसकै ‘हुम्ला–जुम्ला’ भनेर विकट मानिने बरडाँडामा
स्वास्थ्य सेवाको पहुँच नहुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका छन्। यहाँस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका करिब ७५ प्रतिशत विद्यार्थी भाइरल ज्वरोका कारण विद्यालय आउन सकेका छैनन्।

विद्यालयका प्रधानाध्यापक बिल्टु यादवका अनुसार विद्यालयमा अध्ययनरत करिब ७५ विद्यार्थीमध्ये पछिल्लो समय २७ जनाको हाराहारीमा मात्रै विद्यालय आएका छन्।

गाउँमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि समेत स्थानीयले पाँच–दश किलोमिटरभन्दा बढी दूरी पार गरेर टुटेश्वर वा बर्दिबास पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। वर्षायाममा माण्डवी गङ्गा ९मरहा खोला० उर्लिएपछि आवतजावतसमेत अवरुद्ध हुने गरेको उनीहरूको भनाइ छ।
स्थानीय पञ्चबहादुर गोलेका अनुसार विद्यालय नजिकै स्वास्थ्य संस्था सञ्चालनका लागि ६–७ वर्षअघि नै भवन निर्माण गरिएको भए पनि हालसम्म स्वास्थ्यकर्मी पुगेका छैनन्। उक्त स्वास्थ्य केन्द्र सञ्चालनमा आए बरडाँडा र आसपासका करिब २५० घरधुरी लाभान्वित हुने उनको भनाइ छ।
द पब्लिक टुडे मार्फत समस्या सार्वजनिक भएपछि बर्दिबास नगरपालिकाले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली परिचालन गरेको थियो । नगरपालिकाले बरडाँडामानगर स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।
बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले प्रभावित क्षेत्रमा तत्काल औषधिसहित चिकित्सकको टोली परिचालन गरिएको र स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताए।
आइतबार महोत्तरीका जिल्ला समन्वय अधिकारी सुमनलाल कर्ण, बर्दिबासका मेयर प्रह्लाद कुमार क्षेत्री, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जनप्रतिनिधि तथा प्रहरी प्रशासन लगायतको टोलीले टुटेश्वर पुगेर स्थानीयसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो।
बर्दिबास नगरपालिका–५ का वडा अध्यक्ष कहारमान स्याङ्वाले सडक सञ्जाल र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बरडाँडाजस्ता विकट क्षेत्रमा सरकारको विशेष ध्यान जानुपर्ने बताए।
स्थानीयका अनुसार सडक विस्तारसँगै आवश्यक स्थानमा पुल निर्माण हुन सके स्वास्थ्य, शिक्षा तथा आवतजावतको समस्या धेरै हदसम्म समाधान गर्न सकिन्छ।
भाइरल ज्वरोका कारण बालबालिका थलिएका बेला स्वास्थ्यकर्मी र औषधिसमेत पुग्न नसक्दा बरडाडाको स्वास्थ्य संकट थप गम्भीर बनेको शिक्षक देवकुमार लामाले बताए।






