सरकारी राजश्व बाहेक एक सुको नदिनुस् : नगरप्रमुख मण्डल

जलेश्वर, फाल्गुन १४ गते :  महोत्तरीको मटिहानी नगरपालिका–१ मा प्रथम चौमासिकमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखा परिक्षण गरिएको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीहरुले उपभोक्ता समिति बनाउँदा पारदर्शी नभएको भन्दै आक्रोश पोखेका थिए ।

स्थानीयबासी आमोदकुमार रायले विकास निर्माणको कामहरु भइरहेकोमा खुशी व्यक्त गर्दै बजेट तथा उपभोक्ता समिति पारदर्शी नभएको आक्रोश पोखे । उनले भने, ‘विकास त हुन्छ तर त्यसमा कतिको लगानी गरिएको छ तथा उपभोक्ता समिति बनाउँदा सबैलाई थाहै हँुदैन् ।’ वडाध्यक्षहरुले आफु आसेपासेहरुलाई लिएर मात्रै उपभोक्ता समिति बनाइरहेको छ यो कार्यलाई सुधार गरेर सबैलाई जानकारी गराई उपभोक्ता समिति बनाउनुपर्ने उनको कथन थियो ।

त्यसैगरी सेवाग्राहीहरुले नगरपालिकाका कर्मचारीहरुले काममा ढिलासुस्ती गर्ने गरेको जानकारी गराउँदै सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन नगरप्रमुखसंग आग्रह गरे । नगरपालिकाले पहिला नगरभित्रमा यो चौमासिकमा गरेका कामहरुको विवरण तथा त्यसमा भएको बजेटको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नगरप्रमुख मण्डलले उपभोक्ता समिति बनाउँदा सबैलाई सम्मिलित हुने गरी बनाउनुपर्ने आफुहरुको दायित्व रहेको बताउँदै यस कार्यमा राम्रोसंग काम गर्न वडाध्यक्षसहित कर्मचारीहरुलाई निर्देशन दिए । उहाँले सेवाग्राहीहरुलाई सेवा दिएवापत सरकारी राजश्व बाहेक एक सुको पनि कर्मचारीलाई नदिन आग्रह गर्दै त्यस्तो भएको खण्डमा आफुलाई जानकारी गराउन समेत आग्रह गरे ।

विकासको काम गर्दा बजेटहरु पनि सार्वजनिक गर्न व्यानर बनाएर नै कार्यस्थलमा राख्न आफुले निर्देशन गरिसकेको बताउँदै उनले प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्न आफु दृढ रहेको विश्वास दिलाए ।

मटिहानी नगरपालिकाको सहयोगमा जीवन विकास समाज जलेश्वरले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका उपप्रमुख शिवोदेवी साह, कार्यकारी अधिकृत चन्द्रशेखर शर्मासहित वडाका वडाध्यक्षहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको समाचार आजको द पब्लिक टुडे पत्रिकामा छ ।