संक्रमण शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउन मुख्यमन्त्री राउतको आग्रह

फाइल फोटो

जनकपुरधाम, चैत्र १२ गते । मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणका शंकास्पद व्यक्तिहरु माथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

बुधवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्र बाट आएका संक्रमण शंकास्पद व्यक्तिहरुको पहिचान गरि आइसोलेशनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रदेश स्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका हुन् ।

उनले विश्व व्यापीरुपमा फैलिएको महामारी नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव हुने नभएकोले निजी क्षेत्र, गैर सरकारी संस्था तथा सम्पूर्ण जनसमुदायलाई आ–आफनो तहवाट योगदान गर्दै राष्ट्रव्यापी लकडाउनलाई सफल पार्न अपील गरे । मुख्यमन्त्री राउतले यस संकटको घडीमा दैनिक उपभोग्य समानहरुको कृत्रिम अभाव सृजना गर्नेहरु माथि कडा कारबाही गर्दै दैनिक उपभोग्यको सामानहरु सहज र सुपथ मुल्यमा आम सर्वसाधारणलाई उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन समेत दिएका छन् ।

खुला सीमाका सबै नाकाहरुमा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनुका साथै जनताको जिउधनको सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सुरक्षा निकायलाई उनले निर्देशन दिएका हुन् ।

Image may contain: text