जनकपुरमा आलु, प्याज, ग्यास र रिचार्ज कालोबजारी गर्ने ११ पक्राउ

जनकपुरधाम, चैत्र १३ गते : लकडाउनको बेला ग्यास, आलु, प्याज र रिचार्ज कार्डको कालोबजारी गर्ने ११ व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। अनुगमन र उपभोक्ताले गरेको गुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

आलु र प्याजको कालोबजारी गर्ने जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरका ५२ वर्षीय रामअनुठ ठाकुर, वडा-१२ का ३५ वर्षीय जित साह, वडा-४ का ५० वर्षीय विनोदकुमार साह, सोही ठाउँका ४८ वर्षीय कुशेश्वर चौधरी र वडा-७ का २८ वर्षीय अजय साह पक्राउ परेका छन्।

यस्तै, आलु र प्याजकै कालोबजारी गर्ने जनकपुरधाम उपमहानगरपालिका-७ का २४ वर्षीय प्रविन साह, वडा-४ का ४३ वर्षीय राजकिशोर यादव, वडा-१ का ३१ वर्षीय गुलजार शेख र सोही ठाउँका ३१ वर्षीय प्रमोद साह पनि पक्राउ परेका छन्।

खाना पकाउने ग्यास सिलिण्डरको कालोबजारी गर्ने जनकपुरधाम-४ का १९ वर्षीय कुन्दनकुमार साह र रिचार्ज कार्डको कालोबजारी गर्ने जनकपुरधाम-४ कै २६ वर्षीय विकाशकुमार महतो पक्राउ परेका छन्। साहले १७ सयमा ग्यास सिलिण्डर र महतोले ५० रुपैयाँको एनसेल रिचार्ज कार्ड ६० रुपैयाँमा बिक्री गरिरहँदा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

यस्तै, आलु प्रति केजी ६० रुपैयाँमा र प्याज प्रतिकेजी ८० रुपैयाँमा बेचिरहेका ९ जनालाई पक्राउ गरिएको डिएसपी कार्कीले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूले कालोबजारी गर्न लागेका समानहरू समेत नियन्त्रणमा लिइएको छ। उनीहरूलाई प्रहरीले हिरासतमा राखेर कारबाही अगाडि बढाएको छ।