जनकपुरमा ग्यास र नुनमा कलोबजारी गर्ने दुईजना पक्राउ

जनकपुरधाम, चैत्र १४ गते । लकडाउनको मौका छोपी नुन र ग्यासमा कालोबजारी गरेको आरोपमा दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार जनकपुरस्थित बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले नुन र ग्यासमा कालोबजारी गरिरहेको अवस्थामा उनीहरु पक्राउ गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका-११ वस्ने वर्ष ४५ को जय प्रकाश साहलाई ग्यास सिलिण्डर स्टोरमा राखि सेवा ग्राहीहरुलाई विक्री नगरेको आरोपमा पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

त्यस्तै जनकपुरधाम उपमहानगर वडा नम्बर १४ वस्ने वर्ष  ४७ को नरेश साहलाई नुन प्रति  किलो ३५ रुपैयाँमा  बेचि रहेको आरोपमा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

लकडाउन सुरु भएयता प्रहरीले पछिल्लो तीन दिनमा जनकपुरबाट कालोबजारी गर्ने १६ जनालाई पक्राउ गरिसकेको छ ।