जनकपुरबाट कालोबजारी गर्ने १७ जना पक्राउ

जनकपुरधाम, चैत्र १६ गते : लकडाउनको मौका छोपेर दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्ने १७ जना जनकपुरबाट पक्राउ परेको छन्।

जनकपुरमा मास्क र पञ्जाको कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरेको पाइएपछि जनकपुरधाम-४ का ३६ वर्षीय राजेशकुमार झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले एउटा मास्ककको ७५० र पञ्जा प्रतिपोका ५०० मा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

त्यसैगरी बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र नुन बिक्री गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका-११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ का ४७ वर्षीय नरेशकुमार साह रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरेको पाइएपछि पक्राउ गरिएको हो।

यसअघि प्रहरीले बिहीबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो। पक्राउ गरिएका सबैले लकडाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्रीमा कालोबजारी गरेको पाइएको प्रहरीले जनाएको छ।