लकडाउनका कारण किसानले बाँडे निःशुल्क तरकारी

लहान, चैत्र १६ गते : कोरोना भाइरस (कोबिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’का कारण समस्यामा परेका सिरहाको लहानका स्थानीयलाई एक किसानले निःशुल्क तरकारी वितरण गरेको छ ।

लकडाउनको मौका छोपी बजारमा तरकारीको मुल्य बढाएर बिक्री भइरहेका बेला लहान नगरपालिका–२४ का किसान रामप्रकाश महतोले वडा नम्बर १, ६ र ७ का स्थानीयलाई करिब १६ क्विन्टल भान्टा निःशुल्क वितरण गर्नुभएको हो ।

आफ्नै खेतमा उब्जाएको करिब १६ क्विन्टल भन्टा किसान महतोले वितरण गर्नुभएको हो । किसान महतोले तीन ट्याक्टर भन्टा वितरण गरेका छन्। ‘हामीसँग वितरण गर्न सहयोग माग्नुभयो, हामीले वितरणमा सहयोग गरिदिएका छौं,’ उनले भने।

लकडाउनको बेला तरकारी नपाएर समस्यामा परेका गरिब, विपन्न तथा लहानमा बस्ने बाहिरका व्यक्तिहरूलाई भन्टा वितरण गरेको किसान महतोले बताए। उनले भने, ‘पैसा त जहिल्यै कमाउँछौं। अहिले दुःख परेकालाई सहयोग गर्नुपर्छ भनेर तरकारी निःशुल्क बाँडेको हुँ।’

उनले खेतमा अझै करिब ३ क्विन्टल भन्टा फलेको भन्दै आवश्यकता अनुसार फेरि वितरण गर्ने बताए।