महामारीबाट पाठ सिकेर विज्ञान-प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : पूर्वमन्त्री शाह

छत्र कार्की
चैत्र २० गते : पेसाले इन्जिनियर गणेश शाह नेकपाको विज्ञान–प्रविधि विभागका प्रमुख हुन्। सन् १९७३ मा रसियाबाट इन्जिनियरिङमा उच्चशिक्षा हासिल गरेका उनी इन्जिनियरिङ र राजनीति दुवै क्षेत्रमा उत्तिकै सक्रिय रहँदै आएका छन्।

नेपालको वैज्ञानिक–प्राविधिक समुदायको उन्नयनका लागि निरन्तर क्रियाशील उनी जलवायु परिवर्तनलगायत विज्ञान तथा वातावरणका विभिन्न मुद्दाबारे नीतिगत समाधान खोज्नुपर्ने धारणा राख्छन्। वातावरण तथा विज्ञान तथा प्रविधि मन्त्री भएर काम गरिसकेका शाह कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि विज्ञान–प्रविधिको महत्वपूर्ण भूमिका रहने बताउँछन्।
कोभिड–१९ महामारी र वैज्ञानिक–प्राविधिक समुदायको भूमिकाबारे पूर्वमन्त्री शाहसँग नेपालन्युजकर्मी छत्र कार्कीले गरेकोे कुराकानीः

अहिले विश्वभर कोरोना भाइरस (कोभिड –१९) को महामारी छ। यसबाट नेपाल पनि अछुतो छैन, नेपालको वैज्ञानिक तथा प्राविधिक समुदायले अहिले कसरी काम गरिरहेको छ?
विज्ञान–प्रविधि समुदायमा खास गरी स्वास्थ्य विज्ञानमा काम गरिरहनुभएका व्यक्तिहरु अस्पतालमा भर्ना भएका बिरामीको कोभिड–१९ सम्बन्धी परीक्षणमा सक्रिय हुनुभएको देखिएको छ। नेपालमा टेकु अस्पतालमा मात्रै परीक्षण सुरु भएको थियो। तर, अहिले अन्य ठाउँमा प्रयोगशाला सुरु भइसकेको छ।

यस्ता संक्रामक रोगहरु आउँदा गरिनुपर्ने परीक्षण अभाव हुने अहिलेको परिस्थितिले देखाइरहेको छ। परीक्षण किट तथा यो क्षेत्रमा काम गर्ने जनशक्ति अभाव देखिएको छ। सँगै यस्तो रोगका लागि आवश्यक पर्ने सुरक्षा उपकरण, उपयुक्त प्रयोगशालालगायतमा पनि अभाव देखिएको छ।

तर, जेजस्तो भए पनि थोरै स्वास्थ्य विज्ञानका क्षेत्रका मानिस अहिलेको परिस्थितिमा अलि अगाडि नै देखिएका छन्। यो सँगै फोहोरमैला व्यवस्थापन, सरसफाइलगायतमा काम गर्नेहरु, जसलाई हामी सेनिटेसन वा हाइजिन भन्छौं, त्यसमा खासै काम भएको अनुभूत गरिरहेको छैन मैले।

‘प्योर साइन्स’को माइक्रोबायोलोजी, बायोटेक्नोलोजीलगायतका सरकारी प्रयोगशालाले महामारीका बेला अगाडि आए रकाम गरेको मैले जानकारी पाएको छैन। मास्टर्स तहमा १०÷१५ वर्षदेखि बायोटेक्नोलोजी, माइक्रोबायोलोजीलगायतको पढाइ भइरहेको छ। तर, त्यो किसिमको प्रयोगशाला भएका विश्वविद्यालयलगायतको यो विषम परिस्थितिमा त्यस्तो उत्साहजनक सक्रियता मैले देख्न पाएको छैन। उनीहरुको सक्रिय बनाउन सरकारले आफ्ना गतिविधिलाई अलि गति दिएर अगाडि बढाउनुपर्छ।

प्रविधिको कुरामा खास गरी सूचना–प्रविधिको उपयोग बढीभन्दा बढि कसरी सूचना सम्प्रेषण गर्ने भन्नेमा भएको छ। आपूर्ति व्यवस्थापन गर्नको लागि यसको प्रयोग हुनसक्छ। शान्ति सुरक्षा कायम राख्नका लागि पनि यसको उपयोग हुन्छ। सरकारले संञ्चार डिभिजनलाई गतिशील बनाइरहेको छ। अनलाइनमार्फत् मिटिङलगायत गतिविधि अलिअलि भएको छ। तर, पर्याप्त मात्रामा हामीले गर्न सकेका छैनौं।

विज्ञानका अनुसन्धान संस्थाले चाहिँ के गरिरहेका छन्?
नेपालमा सरकारी तथा निजी अनुसन्धान संस्था छन्। ‘प्योर साइन्स’का सरकारी संस्थामा भित्रभित्रै के–कस्ता अनुसन्धान गरिरहेका छन् भन्ने कुराको बारेमा मलाई जानकारी छैन। तर, जनताले थाहा पाउने कामरहरु भइरहेका छैनन्, किनभने सायद यस्तो कामका लागि प्रयोगशालाको सुरक्षात्मक व्यवस्था भएजस्तो लाग्दैन। ल्याबका उपकरण र काम गर्ने वैज्ञानिकलाई प्रशिक्षण दिइएको छैनजस्तो मलाई लाग्छ।

निजी क्षेत्रका केही प्रयोगशालाले केही काम त गरिरहेका छन, तर सरकारी क्षेत्रसँग समन्वय गरेर काम गरेजस्तो मलाई लाग्दैन।

टेकू अस्पताललाई भ्याइनभ्याइ छ, विश्वविद्यालय तथा विभिन्न क्षेत्रका विज्ञान ल्याबमा कोभिड–१९ परीक्षण सम्बन्धी काम प्रभावकारी रुपमा किन हुन नसकेको हो?
यसको प्रमुख कारण सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा आफ्नो राष्ट्रिय बजेटबाट निकै कम लगानी गरिरहेको छ। हामीले विगतदेखि नै कूल बजेटको १ प्रतिशत लगानी गर्नुपर्छ भनेर आवाज उठाइरहेका छौं। तर, हाम्रो बजेट नै यति कम छ कि न हामी उपकरण किन्न सक्छौं, न मानव स्रोतसाधनलाई प्रशिक्षण गर्न सक्छौं। त्यसैले यसको प्रमुख कारण यी क्षेत्रमा पर्याप्त मात्रामा राज्यको लागानी नहुनु हो।

संकटको घडीमा पनि वैज्ञानिक निकाय केही गर्न नसक्ने अवस्थामा छ। सुरुमा त कोभिड–१९ को परीक्षणका लागि ‘स्वाब’ हङकङ पठाउनुपर्ने अवस्था थियो। अहिले त जे भए पनि नेपालमै परीक्षण हुन्छ नि।

अहिले विश्वभर फैलिएको नै यो महामारीपछि विज्ञान–प्रविधिको क्षेत्रमा, अनुसन्धान –प्रशिक्षण क्षेत्रमा, विज्ञान र प्रविधि क्षेत्रमा राज्यले के गर्ने? वैज्ञानिकले के गर्ने? प्रविधिकले के गर्ने भन्ने गन्थन सुरु हुन्छ भन्ने लागेको छ किनभने यो विश्वव्यापी फैलिएको रोग हो। कोभिड–१९ त एउटा संक्रमण भयो। अहिले विश्वमा कोभिड २० को पनि एक किसिमको बहस भइरहेको छ।
जुन किसिमले हाम्रो वातावरणमाथि प्रहार भइरहेको छ, प्रकृति र मानवको बीचमा जुन किसिमको संघर्ष भइरहेको छ, यसले आगामी दिनमा अझै विभिन्न किसिमका रोग विकास हुनसक्ने जोखिम छ। महामारीको सम्भावना बढी भएकाले अहिले नेपाल सरकारले वर्तमान नेपालको वैज्ञानिक तथा प्रविधि क्षेत्रसँग छलफल गरी नीति–नियम र एउटा खाका निर्माण गर्नुपर्ने देखिन्छ। यसमा लगानी बढाउनुपर्ने देखिन्छ।

हामी नेपालीले यो संक्रमणको कस्तो मूल्य तिर्नुपर्ने हो, थाहा छैन। विश्वमा विज्ञान तथा प्रविधिमा लगानी गर्ने कारिया, चीनजस्ता देशले यो महामारीलाई समयमै नियन्त्रण गर्न सकेको छ। अहिले हामीकहाँ यस्ता कुराको अभाव छ।

प्रभावकारी रुपमा महामारी नियन्त्रणका लागि सरकारले विज्ञान–प्रविधिका कुन–कुन क्षेत्रलाई समेट्नुपर्ने जरुरी देख्नुहुन्छ?
संक्रामक रोगबाट बच्न हात धुने कुरा गरिरहेका छौं हामी। यो भनेर मात्रै हुँदैन। संक्रामक रोगबाट बच्नका लागि, नेपाली जनतालाई सुरक्षित र स्वस्थ राख्नका लागि, खानीपानी, सरसफाइ, खाद्यसुरक्षा लगायत कुरामा लगानी गर्नुपर्ने देखिन्छ। सरकारले यस्ता महामारीलाई समयमै नियन्त्रण गर्नसक्ने क्षमता बनाउन नेपालको विज्ञान–प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्छ।

यो क्षेत्रका वैज्ञानिक जनशक्तिको मनोबललाई प्रोत्साहन गर्नुपर्छ। नयाँ–नयाँ विषयको पढाइको आवश्यकता छ भने त्यसमा लगानी गर्नुपर्छ। यो क्षेत्रमा रोजगारी छैन, यो क्षेत्रमा पढ्ने विद्यार्र्थी पनि हुँदैनन भनेर हुँदैन। अहिले नेपालमा माइक्रोबायोलोजिस्ट तथा यस क्षेत्रका अन्य जनशक्तिलाई पनि सरकारले प्रोत्साहन गर्नुपर्छ।

वर्तमान अवस्थामा जेजस्तो जनशक्ति छ, प्रयोगशाला छ, त्यसमा लगानी गरेर अगाडि बढनुपर्ने देखिन्छ। आगामी दिनमा अघि भनेको जस्तै विज्ञान–प्रविधि क्षेत्र, सेनिटेसनलगायतका कुरामा सरकारले लगानी र प्रोत्साहन गर्नुपर्छ, संरचना निर्माण गर्नुपर्छ।

स्वास्थ्य र शिक्षाको जुन कुरा छ, त्यो निजी क्षेत्रलाई दिएर होइन, सरकारले आफ्नो स्वामित्वमा राख्नुपर्ने देखिन्छ। अहिले निजी अस्पतालले कोरोना उपचारमा आनाकानी गरेको देखिएको छ । एकातिर, उनीहरु तयार पनि छैनन, र उनीहरुको त्यो मोटिभ पनि देखिँदैन।

त्यसैले, अहिलेको समयमा नेपाल सरकारले पाठ सिकेर आगामी दिनमा नेपालको स्वास्थ्य क्षेत्रलाई पुनःसंरचना गर्नुपर्ने देखिन्छ। अहिलेको अवस्थाबाट पाठ सिकेर राज्यले यी क्षेत्रमा लगानी गर्नुपर्छ, पुनःसंरचना गर्नुपर्छ। तीनै तहका स्थानीय, प्रादेशिक र संघीय सरकारले आफूलाई तयारीको अवस्थामा राख्नुपर्छ। आमजनतामा सही सूचना प्रवाह गर्ने कुरामा ध्यान दिनुपर्छ।

तपाईंलाई नेपाल सरकारले महामारीका बेलामा विज्ञान–प्रविधि समुदायसँग कसरी समन्वय गरेर अगाडि बढ्नुपर्ने भन्ने लाग्छ?
यसका लागि विज्ञान मन्त्रालय र स्वास्थ्य मन्त्रालयको नेतृत्वले समन्वय गरेर काम गर्नुपर्ने हुन्छ। स्वास्थ्य भनेको खाली औषधी मात्रै पनि होइन। यो सँगै वैज्ञानिक अनुसन्धान गर्ने कुरामा ध्यान दिनुपर्छ। यसका लागि सरकारले उच्च प्राथमिकता दिन आवश्यक छ।

जुन संक्रामक रोगहरु छन्, तिनका बारेमा नीतिमा आएका त छन्। तर, कार्यान्वयन पनि गरिनुपर्छ। जसका लागि कुनै मन्त्रिस्तरीय वा वैज्ञानिकको नेतृत्वमा एउटा समिति बनाएर आवश्यक लगानी गरी वैज्ञानिकलाई प्रशिक्षण दिनुका साथै मुख्यतः माइक्रोबायोलोजी, बायोटेक्नोलोजीलगायतका क्षेत्रमा लगानी बढाउने, प्रयोगशालाको सुधारिकरण गर्ने र आमजनतामा चेतना अभिवृद्धि गर्नेतर्फ गतिविधि बढाउनुपर्छ।

तपाईं नेकपाको विज्ञान प्रविधि विभागको प्रमुख पनि हुनुहुन्छ। यस्तो संकटका बेलामा पार्टीगत तहबाट भएका कामलाई कसरी हेर्नुभएको छ?
हामीकहाँ अहिलेसम्म वैज्ञानिक समुदायसँग वार्ता, संवाद र सल्लाह लिने संस्कार नै दीक्षित नभएको जस्तो लागेको छ। त्यसैले, अब नेतृत्व तहले वैज्ञानिक तथा प्रविधिका समुदायसँग अनवरत र निरन्तर सरसल्लाह, छलफल र वार्ता गर्नुपर्ने देखिएको छ। राजनीतिक पार्टी, सरकार र वैज्ञानिक समुदायबीचमा निरन्तर समन्वय हुन आवश्यक छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा यसको आवश्यकता झनै देखिएको छ।

तपाईंले विज्ञान कुटनीतिको पनि वकालत गर्दै आउनुभएको छ, यो महामारीसँग जुध्न यसको योगदान कस्तो हुन्छ?
मैले विज्ञान कूटनीति अनि डिजिटल डिप्लोमेसीको बारेमा कुरा गरिरहेको छु। हामीले यही कोभिड–१९ को संक्रमणको समयमा नेपालमा भएका वैज्ञानिक संस्थाहरुले विश्वभरका अन्य देशका विज्ञान विद्यालयसँग वैज्ञानिक ज्ञानको आदनप्रदान गर्नुपर्ने थियो।

त्यहाँ के हुँदै छ, के भयो भन्नेबारेमा अन्य देशसँग समन्वय गर्नुपर्ने हुन्छ। आगामी दिनमा आउने विज्ञानका चुनौतीको बारेमा पनि नेपाली वैज्ञानिक संघसंस्थाहरुले अन्य मुलुकका संस्थासँग सम्बन्ध राख्न आवश्यक छ। नयाँ पाठ्यक्रमको सुरुआत गर्न होस् या प्रयोगशाला सुदृढीकरण गर्नको लागि होस्, यो सबै गर्नका लागि साइन्टिफिक डिप्लोमेसी स्थापित गर्न आवश्यक छ।
अब हामीले डाक्टर पढाउने मात्रै नभएर यस्ता विषयमा पनि सम्बन्ध र जोइन्ट रिसर्च गर्ने वातावरण बनाउन आवश्यक छ।

कोभिड –१९ को नेपालमा हुनसक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्नका लागि सरकार, विज्ञान–प्रविधि समुदाय र निजी क्षेत्र कसरी अगाडि बढ्नुपर्छ?
यसका लागि त सर्वोत्तम उपाय के गर्न सकिन्छ भने नेपाल सरकारले अग्रसरता लिएर नेपालको वैज्ञानिक समुदाय र निजी क्षेत्रलाई राष्ट्रिय, प्रदेश र अन्तर्राष्ट्रिय स्तरमा उत्तिकै ‘एक्सपोजर’ दिनुपर्छ। महामारी नियन्त्रणमा अन्यत्र भएका अभ्यास यहाँ अपनाउनुपर्छ। सरकार, वैज्ञानिक कम्युनिटी र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ, अनि मात्र यस्तो विपत्बाट पार पाउन सकिन्छ।

यसका लागि सरकारले सहजकर्ताको भूमिका खेलेर आवश्यक कदम चाल्नुपर्छ। कोभिड–१९ परीक्षण व्यवस्था, अस्पताल, डाक्टर आदि सुनिश्चितताका लागि पनि सहकार्य जरुरी हुन्छ। अर्कोतिर, कोरोनाले जुन त्रास बढाएको छ, त्यसबारे सही सूचना र वैज्ञानिक तथ्य फैलाउन सबैको उत्तिकै भूमिका रहेको छ। अफवाहबाट जनतालाई टाढा राखेर असुरक्षाबाट सुरक्षाको बातावरण सिर्जना गर्नेतर्फ लाग्नुपर्छ। नेपालन्युज