-
रामनारायण महतो
नेपाल कृषि प्रधान देश हो । नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ । यहाँका अधिकाशं भु–भाग गाउँ नै गाउँले भरिएको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्नेको मुख्य पेशा कृषि नै हो । कृषि प्रधान देश भए पनि हाम्रो देश कृषिमा आत्मनिर्भर हुन सकेको छैन । नेपालमा कृषि विकासको संस्थागत प्रयास १९७८ देखि नै भएको मानिन्छ । तर पनि यो परिपेक्षमा कृषि क्षेत्रको विकास र कृषिमा संलग्न जनताको व्यवसायिक र आयस्तर वृद्धिमा जोड दिएको देखिदैन ।
यो अवस्थामा देश कसरी अगाडी बढ्छ । कृषिको आशामा रहेका अधिकांश किसानको जीवन निराशामा वितिरहेको छ । विश्वका सबैभन्दा ठुलो दाता कृषक नै हो । कृषकले नै काम गरेन भने खाने के त ? कृषि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको हो । यति थाहा हुदाँहुदै पनि कृषकको पहिचान हुन नसक्नु कस्तो विडम्बना । यसको अध्ययन, अनुसान्धान गर्न अतिआवश्यक देखिन्छ । कृषकको नाममा वर्षेनी बजेट विनियोजित हुन्छ तर सदुपयोग हुदैन ।
भनिन्छ मूल्य पसिनाको हुन्छ । यदि मूल्य पसिनाको हुने हो भने सबै भन्दा बढी पसिना किसानले बगाउँछ । हामीलाई थाहा छ सबैभन्दा ठुलो सम्पत्ति स्वस्थ शरिर हो । गर्भदेखि नमरुनजेल सम्म कुनै न कुनै रुपमा हामी खाधन्नसँग जोडिएका र खाना विनाको जीवन हामी कल्पना पनि गर्न सक्दैनौ ।
यो खाना कहाँबाट, कसरी जस्ता प्रश्नहरुको उत्तर खोज्दा ती प्रशनहरुको उत्तरमा किसान नै आउँछ । तर आज किसान कै जीवन अन्धकार बन्दै गएको छ, खेती योग्य जमिनहरु मरुभूमि बन्दै गइरहेको अवस्थामा यसप्रति न त सरकार जिम्मेवार छ न त कुनै स्थानीय निकाय ।
एकथरी नेपाली जनतालाई राष्ट्र सेवकको दर्जामा राखिएको छ भने अर्काे कृषकलाई पहिचान पनि दिन नसकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कृषकलाई नयाँ प्रक्रियाबाट मजबुत गराउनुको सट्टा लाखौ युवाहरुलाई विदेश पठाउने र रेमिटान्समा भर पर्ने गरेको छ ।
मैले विदेश जानु हुदैन भनेको होइन तर हामी विदेश जाँदा हामीले सिकेका सिप विदेशका काममा प्रयोग हुदैन भने विदेशबाट फर्किदा यहाँ पनि अन्यौलमा परिदैन भनेर भन्न सकिदैन । त्यसको फलस्वरुप वेरोजगारको अवस्था सिर्जना हुन्छ । युवाजस्तो जनशक्ति गुमाउनु भनेको देशका लागि दुर्भाग्य नै हो । युवा देशका शक्तिका रुपमा भएता पनि त्यस तर्फ ध्यान दिएको पटकै देखिदैन । कृषि क्षेत्रमा अपार रोजगारीका संभावना भएता पनि त्यतातिर जिम्मेवार निकायको चासो देखिदैन् ।
उदाहरणका लागि हामी वाँसका विभिन्न सामाग्रीहरु जस्तै खुर्शी, टेबुल, ¥याक आदि ईत्यादि समाग्रीहरु बनाएर अन्तराष्ट्रिय सहर बजारमा बेच्दा दुई सय देखि पाँच सय अमेरिकन डलर कमाउन सक्छौ । त्यस्तै नीम खेतीबाट पनि प्रसस्त मात्रामा कमाउन सकिन्छ । यस्ता उदाहरणहरु थुप्रै छन् । तर यसप्रति जिम्मेवार निकाय गम्भिर बन्न सकेका छैनन् ।
मुलुक अहिले लामो समयको सक्रमण काल पछिको बाटोमा अग्रसर भएता पनि यो अवस्थामा जमिनदारका नाममा शासक वर्गहरुका कारणले अधिकांश जग्गाहरु वाँझो नै रहेका छन । कृषकको नाममा, कृषकको हकहितको उत्पादन र बजार व्यवस्थापनको जस्ता यथावत विषयहरुको सपना देखाएर सत्तामा जाने र सत्ताको दुरुपयोग गर्ने प्रवृति यथावत नै छ । केहीले त राजनीतिक संरक्षणमा प्राकृतिक संरक्षणलाई नै धरापमा पारेको देखिएको छ ।
प्राकृतिक स्रोतको विनासका कारणले दिनहु खेतीयोग्य जग्गाहरु मरुभुमी बन्दै गएको छ । यसको नतिजामा दिन प्रतिदिन युवाहरु वैदेशिक रोजगारीमा जान वाध्य छन । दिगो कृषि तथा पशुपालनमा पछौटेपन, कृषि उत्पादन र प्रशोधन, विउ,व्यपार, योजना समन्वयन, बर्षामा आधारित खेती प्रणाली बजारको अन्यौलता जस्ता अनेक समस्याहरु जिवितै छन ।
तराईलाई अन्नको भण्डार भनेर चिनिन्थ्यो । अहिले पनि भनिन्छ । तर अहिले व्यवहारमा नभइ कागजको किस्तामा मात्र सिमित भएको छ । जुन कागजमा सरकार विस्वस्थ रहेका छन । जुन धानका बाला हेर्दा सुनका बाला झै हल्लीरहेको हुन्थ्यो ती सब तस्करी गरी आज तराई भुभाग नै मरुभुमी बनाई भौतिक विदेशी सुन तस्करी गर्न समेत पछि परेनन् ।
संसारका किसान वाहेकका सबै उत्पादन कम्पनीहरुले आफ्नो वस्तुको मूल्य आफै निर्धारण गर्छन तर किसान आफुले उत्पादन गरेको मुल्य निर्धारण गर्न पाउँदैन । यस तर्फ सरकारको विशेष ध्यान जान जरुरी छ ।
अनुदान कार्यक्रम दिने र दिईरहेका कुरा गर्छन हाम्रा अग्रपन्तिका नेतृत्व गर्नेहरु । तर अनुदानका नाममा पार्टीका, नेताका आसेपासेहरुका लागि बडो उपयोगी भएका छन । बास्तविक किसानले पाएका छैन । यस्तो खालको अनुदानको मोडेल परिमार्जन गरिनु अति आवश्यक छ । अनुदानको साटो वास्तविक किसानको पहिचान गरी सहुलियत कर्जाको व्यवस्था गरी, कषि सामाग्रीहरुमा भन्सारमा सहुलिएत, नयाँ प्रविधि सम्बन्धि ज्ञान, तालिमको व्यवस्था गर्नु पर्दछ ।
शिक्षाको क्षेत्रमा आधारभूत तह देखि नै सिपयुक्त शिक्षाको व्यवस्था गर्नु पर्छ । हामीलाई बाँच्नका लागि आवश्यक महत्वपूर्ण तत्व स्वच्छ र स्वस्थ खानपिन नै हो । तर पनि हामी जानी–जानी वा नजानी आफ्नै कारणले अमुल्य जीवन अल्पआयुमै गुमाउनु परेको छ । यसको कारणहरु हाम्रो वातावरण, परिवेश, राजनीतिक, विकास निर्माणका कामहरु, आन्तरिक र बाह्य जस्ता विविध रहेका छन्, हामी पछिल्लो इतिहास हेर्ने हो भने हाम्रो देशबाट खाद्यान्न वस्तु आयात हैन निर्यात हुन्थ्यो तर आजको परिस्थितिमा करोडौकको वस्तु आयात भइरहेका अवस्था छ । हामीलाई विश्वमा उत्पादन भएका सबै खाद्यवस्तु चाहिन्छ तर आफ्नै ठाउँ, परिवेशमा उत्पादन गर्न चाहँदैनौ बरु यसको विनाश गर्न कुनै सोचविचार नै नगरी तीव्र गतिमा अगाडी बढ्छौ । यसको परिणाम अहिले हाम्रो अगाडी नै छ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादक तत्व वृद्धि गरी राष्ट्रलाई आत्मनिर्भर बनाउन थुप्रै चुनौतीहरु छन् । कृषि पेसा अंगाल्नेहरु उचित ज्ञान सिप र प्रविधिको अभावका कारण कृषि प्रणालीमा नै अल्मलिएका छन् । अर्कातिर कृषि पेशालाई हेयका दृष्टिले हेरिन्छ । कृषि क्षेत्रमा अथाह संम्भावना भएता पनि अनेक कारणले मानिसहरु कृषि पेशामा ध्यान दिएको पाईदैन । जग्गा बाँझो राखेर जागिर गर्न स्वदेश तथा विदेशका अनेक ठाउँमा जाने गर्छन् । तर आफ्नै गाउँ–ठाउँमा ध्यान नदिएको कुराले कहिले सकार रुप लिने हो भने राज्यले एकताका ओगेटेको ठाउँ त आखिर किसान वर्ग नै हो । हामीले खासगरी किसानको वास्तविक जीवनको उज्यालो पक्षको आशा जगाउने उद्देश्यले कम्युन बनाएर काम गर्नुपर्ने आजको आवश्यकता छ ।
Discussion about this post