‘विश्वकप अघि र पछि खेलाडीलाई आइसोलेसनमा राख्नुपर्छ’

जेठ १ गते : दक्षिण अफ्रिकाको क्रिकेट टिमका पूर्व कप्तान फाफ डु प्लेसिसले टी–ट्वान्टी विश्वकप अघि र पछि खेलाडीलाई आइसोलेसनमा राख्नु पर्ने बताएका छन् । उनले कोरोना भाइरस महामारीका बीच अस्ट्रेलियामा तय भएको टी–ट्वान्टी विश्वकपका खेलाडीले प्रतियोगिता अघि र पछि दुई साता आइसोलेसनमा राख्नुपर्ने सुझाव दिएका छन् ।

“मलाई एकिन त थाहा छैन । तर, धेरै देशका लागि यो यात्रा एक मुद्दा बन्न सक्छ । सायदै अस्ट्रेलियामा अन्य देशभन्दा भाइरसको संक्रमण कम छ । तर, बंगलादेश, दक्षिण अफ्रिका र भारतलगायतका देशमा कोरोनाको खतरा धेरै छ । जहाँ यो सबैको स्वास्थ्यका लागि जोखिम हुन सक्छ,” डु प्लेसिसले भने ।

उनले थपे, “यदि विश्वकप खेल्नु छ भने प्रतियोगिता अघि र पछि दुई साता आइसोलेसनमा बस्नु पर्छ ।” ३५ वर्षीय डु प्लेसिसले यसै वर्ष आफ्नो कप्तानीबाट राजीनामा दिएका थिए । उनले सन्यास लिँदा आफूले कप्तानीको आनन्द लिइसकेको बताएका थिए ।

टी–ट्वान्टी विश्वकपको आयोजना १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने तय भएको छ । एजेन्सी