फेरि कोरोना फैलिने त्रासपछि ऊहानमा गरियो ६७ लाखमा कोरोना परीक्षण

File Photo

एजेन्सी : कोरोना भाइरसको सुरुवाती केन्द्र मानिएको उहान शहरमा फेरि कोरोना फैलिनसक्ने भय निवारणका लागि पछिल्लो १२ दिनमा झन्डै ६७ लाख जनतामा कोरोना परीक्षण गरिएकोसमाचारमा जनाइएको छ ।

स्थानीय स्वास्थ आयोगका अधिकारीहरुले जारी गरेको तथ्याङ्कमा ६६ लाख ८० हजारभन्दा धेरै जनतामा कोरोना परीक्षण गरिसकिएको उल्लेख छ ।

दोस्रो लहर आउनसक्ने चिन्ता बढेपछि हुवेई प्रान्तमा चीन सरकारले सामूहिक परीक्षणलाई तिव्रता दिएको हो । ब्लुम्वर्ग न्युजले मंगलबार गरेको विश्लेषणअनुसार यसरी परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको सूचीमा राखिएको छ ।

उहानमा १२ मेइदेखि नै कुनै हालतमा सम्पूर्ण १ करोड १० लाख जनसंख्यामा परीक्षण गर्ने काम सुरु भएको थियो, ७६ दिन लामो लकडाउन खुला गरेपछि फेरि नयाँ संक्रमित भेटिएका कारण दोस्रो लहर रोक्न यस्तो उपाय लगाइएको हो ।

गत सातामात्रै चीनको राष्ट्रिय स्वास्थ नियोगले कोरोना भाइरसको महामारी सुरु भएयता देशमा पहिलोपटक २४ घण्टाभित्र कुनै पनि नयाँ बिरामी नभेटिएको जनाएको थियो । बेइजिङमा सरकारको वार्षिक बैठकमा बोल्दै सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोन नियन्त्रणमा बल्लतल्ल हासिल भएको उपलब्धि गुम्न नदिनका लागि तिव्र परीक्षण र देशको अर्थतन्त्र खोल्ने विषयमा प्रोत्साहन गरिने बताएका थिए ।

उहान स्वास्थ आयोगका अनुसार शनिबारमात्रै एकैदिन शहरभर ११ लाख जनसंख्यामा परीक्षण गरिएको छ ।  मेइ १२ देखि २४ गतेको अवधिमा परीक्षण तिव्र रुपमा बढाइएको छ ।

यसको तुलनामा अमेरिकामा परीक्षण निकै कम छ, जहाँ मार्चको सम्पूर्ण महिनामा १० लाखभन्दा कम जनसंख्यामा परीक्षण गरिएको थियो ।

न्युर्योक टाइम्सले मंगलबार प्रकाशित गरेको समाचारहरुअनुसार उहानमा झन्डै ९० प्रतिशतमा  सम्पूर्ण परीक्षण भइसकेको छ र शुक्रबारसम्म थप १४ लाख ७० हजारको परीक्षण हुनेछ ।

यता, झन्डै २ करोड जनसंख्याको अमेरिकाको न्युर्योक शहरमा मार्च ४ यता केवल १७ लाखमा मात्रै परीक्षण भएको छ । डोनाल्ड ट्रम्प प्रशासनले गत अप्रिलमा दैनिक रुपमा ५० लाखमा परीक्षण गरिने दाबी गरेको थियो । तर पछि यसलाई झारेर दैनिक २० लाखमा परीक्षण गरिने भन्यो । तर, सार्वजनिक तथ्याङअनुसार अमेरिकाले अप्रिलको अन्तिम सातायता बढीमा दैनिक २ लाख २० हजारसम्म परीक्षण गर्न सकेको छ ।